काठमाडौं । देशभरका जार तथा बोतलमा प्रशोधित पिउने पानी उत्पादन गर्ने उद्योगीहरूलाई एउटै छाता मुनि ल्याउने उद्देश्यले “नेपाल पानी उद्योग महासंघ” को औपचारिक घोषणा भएको छ।
सोमबार काठमाडौं जिल्ला प्रशासन कार्यालयमा महासंघ दर्ता गरेपछि काठमाडौँको सिनामंगलस्थित होटल रोयल प्यालेसमा आयोजना गरिएको कार्यक्रममा महासंघको घोषणा गरिएको हो। सातै प्रदेशका प्रतिनिधि उद्योगीहरूको उपस्थितिमा महासंघको औपचारिक संरचना सार्वजनिक गरिएको बताइएको छ।
गत माघ १७ गते हेटौँडामा प्रारम्भिक भेला गरेपछि महासंघ गठन गर्ने तयारी भएको थियो। भेलाले विक्रम लिम्बु चेम्जोङको नेतृत्वमा २३ सदस्यीय तदर्थ समिति बनाएको थियो। सोही समितिले ६ महिनाभित्र महासंघ दर्ता गरेर औपचारिक घोषणा गर्ने निर्णय गरेको थियो, जुन अनुसार सोमबार दर्ता गरेपछि घोषणा गरिएको हो।
अध्यक्ष विक्रम लिम्बुले सबै उद्योगीको हकहित जोगाउने उद्देश्यले महासंघ गठन गरिएको बताए। उहाँले आफूले साना उद्योगीको उपेक्षा गरेको आरोप असत्य भएको बताएर साना–ठूला सबै उद्योगीलाई बराबरी मानेर काम गरिने आश्वासन दिए। पारदर्शिताको आधारमा काम गर्ने भन्दै महासंघको पहिलो अधिवेशन पनि चाँडै गरिने जानकारी दिए।
महासचिव ध्रुवप्रसाद अधिकारीले अहिले पिउने पानीको माग बढेसँगै उद्योगहरू पनि बढेका बताए। त्यसैले सबै उद्योगीलाई एउटै छाता मुनि ल्याएर व्यावसायिक हित सुरक्षित गर्ने उद्देश्यले महासंघ बनाइएको उनले जानकारी दिए। उनले धेरै प्रयासपछि महासंघ दर्ता गर्न सफल भएको र अब व्यवसायीहरूलाई उत्तरदायी बनाउन महासंघले भूमिका खेल्ने बताए।
त्यस्तै काठमाडौँ पानी उद्योग संघका अध्यक्ष गोकुल थापाले पनि महासंघ दर्ताका लागि धेरै वर्षदेखि छलफल हुँदै आएको बताए। सातै प्रदेशका उद्योगीहरूले साथ दिएपछि मात्रै दर्ता सम्भव भएको उनले बताए। देशभर झण्डै ७ सयभन्दा बढी पानी उद्योग रहेको र तिनको हकहितका लागि महासंघले काम गर्ने बताएका छन्।
कार्यक्रममा सातै प्रदेशका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। महासंघले उपभोक्तालाई स्वच्छ पिउने पानी सुनिश्चित गर्ने उद्देश्य लिएको जानकारी दिइएको छ।
उद्योगीहरूले बताए अनुसार हाल देशभर पानी उद्योगमा १५ अर्बभन्दा बढी लगानी भएको छ। यस उद्योगमा २२ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् भने ६६ हजारभन्दा बढी परिवारले लाभ लिएका छन्। उनीहरूले भने– “अब पानी उद्योग एकीकृत ढंगले अघि बढ्नेछ, महासंघले सबैलाई समेटेर काम गर्नेछ।”
Comment