काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार सामान्य गिरावट आएको छ।
नेप्से परिसूचक ०.२२ अंकले घट्दै २६००.५३ अंकमा पुगेको छ। परिसूचकमा गिरावटसँगै बजारको कुल कारोबार रकम पनि घट्दै गएको छ। मंगलबार ३१६ वटा कम्पनीका १ करोड ३८ लाख १८ हजार ५५९ कित्ता सेयर ६२ हजार ७५५ पटक किनबेच हुँदा ५ अर्ब ७६ करोड ७८ लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो दिन सोमबार नेप्से परिसूचक ८.१३ अंकले वृद्धि भएर २६०४.११ अंकमा पुगेको थियो भने कारोबार रकम ६ अर्ब ४७ करोड ८७ लाख रुपैयाँ रहेको थियो। आइतबार भने परिसूचक ३२.९३ अंकले घट्दै २५९५.९७ अंकमा पुगेको भए पनि सो दिन ९ अर्ब १४ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।
मंगलबारको कारोबारमा केही कम्पनीले उल्लेखनीय लाभ कमाएका छन्। ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्य ८.०१ प्रतिशतले बढेको छ। यस्तै, हिमालयन पावरको सेयर मूल्य ७.७८ प्रतिशत, खानीखोला हाइड्रोपावरको ५.९७ प्रतिशत, पियोर इनर्जीको ५.८४ प्रतिशत र पाँचथर पावरको सेयर मूल्य ४.८३ प्रतिशतले वृद्धि भएको छ। अर्कोतर्फ, १० प्रतिशत एनआईसी एशिया डेभेन्चरको सेयर मूल्य ५.१७ प्रतिशतले घटेको छ। यस्तै, दार्दी खोला जलविद्युत आयोजनाको सेयर मूल्य ४.३२ प्रतिशत, थ्री स्टार हाइड्रोपावरको ३.१२ प्रतिशत, बरुण हाइड्रोपावरको ३.११ प्रतिशत र त्रिशुली जलविद्युतको सेयर मूल्य २.८१ प्रतिशतले घटेको छ।
समूहगत उपसूचकको दृष्टिले हेर्दा उत्पादन तथा प्रशोधन समूह २९.५७ अंकले उकालो लागेको छ। त्यसैगरी, लघुवित्त समूह ८.९७ अंकले, बैंकिङ समूह ५.९३ अंकले र लगानी समूह ०.२९ अंकले वृद्धि भएका छन् भने अन्य सबै उपसमूहमा गिरावट आएको छ। कारोबार रकमका आधारमा बुटवल पावर कम्पनी २७ करोड ६५ लाख ९० हजार रुपैयाँको कारोबारसहित अग्रस्थानमा रहँदा, इकाई संख्याको हिसाबले शिवश्री हाइड्रोपावर ६ लाख ९६६ इकाई सेयर कारोबारसहित अगाडि रहेको छ। कारोबार संख्याको आधारमा पियोर इनर्जी २ हजार २५ पटकको कारोबारसहित पहिलो स्थानमा रहेको छ। यसदिनको कारोबारपछि कुल बजार पूँजीकरण ४३ खर्ब ३२ अर्ब ८६ करोड ३४ लाख ३६ हजार रुपैयाँ पुगेको नेप्सेले जनाएको छ।
Comment