काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेकोले देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज (सोमबार) दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहनेछ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । विशेषगरी कोशी प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार आज झापा, इलाम, पाँचथर, संखुवासभा, धनकुटा, दोलखा, सिन्धुपाल्चोक, उदयपुर, सिन्धुली, काभ्रे, नुवाकोट, धादिङ, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, रौतहट, गोरखा, तनहुँ, कास्की, पर्वत, पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, सल्यान, दैलेख, सुर्खेत, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने केही स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको पूर्वानुमान छ।
साथै मोरङ, सुनसरी, ताप्लेजुङ, खोटाङ, सिराहा, धनुषा, ओखलढुंगा, सोलुखुम्बु, रामेछाप, रुकुम पूर्व, प्युठान, कपिलवस्तु, दाङ, रुकुम पश्चिम, जाजरकोट, कालिकोट, डोटी, अछाम, बझाङ, दार्चुला र आसपासका जिल्ला भई बहने केही स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सामान्य जोखिमको पूर्वानुमान रहेको महाशाखाले जनाएको छ।
Comment