महालक्ष्मी नगरपालिकाले १ अर्ब ८१ करोडको बजेट प्रस्तुत गर्‍यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर । महालक्ष्मी नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब ८१ करोड ८८ लाख २० हजार ६ सय २९ रुपैयाँ ४२ पैसाको बजेट प्रस्तुत गरेको छ।

नगरपालिकाले सोमबार इमाडोलमा आयोजना गरिएको नगरसभाको १८औं अधिवेशनमा उपप्रमुख लक्ष्मी महर्जनले संविधानले संघीय शासन व्यवस्थामा परिकल्पना गरेका आर्थिक, सामाजिक विकास र सुशासनलाई केन्द्रमा राखेर बजेट प्रस्तुत गरेको बताइन्।

उपप्रमुख महर्जनले बजेटमार्फत सुशासन प्रवर्द्धन गर्ने, पूर्वाधार निर्माणलाई दिगो विकाससँग जोड्ने, आन्तरिक स्रोतको अधिकतम उपयोग गर्ने, कर प्रणालीलाई वैज्ञानिक बनाउने जस्ता प्राथमिकताहरू दिइएको बताइन्। उनले बजेट नतिजामुखी खर्च प्रणालीमा केन्द्रित हुने गरी बनाइएको जानकारी दिइन्।

नगरपालिकाले बजेटमा स्रोत व्यवस्थापनतर्फ नेपाल सरकारबाट प्राप्त हुने वित्तीय अनुदान र बागमती प्रदेशबाट प्राप्त हुने रकमसहित ६८ करोड मौज्दात र १९ करोड आन्तरिक आम्दानी समेटिएको जानकारी गराएको छ।

नगरप्रमुख हरिगोविन्द श्रेष्ठले बजेट प्रस्तुत गर्नुअघि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै “समृद्ध नेपाल, सुखी नेपाली” भन्ने राष्ट्रिय लक्ष्यलाई आत्मसात् गर्दै खानेपानी, स्वास्थ्य, सरसफाइ, पर्यटन, सांस्कृतिक सम्पदाको संरक्षणजस्ता कार्यहरूलाई प्राथमिकतामा राखिएको बताए।

नगरसभामा प्रतिनिधिसभा सदस्य प्रेमबहादुर महर्जनले महालक्ष्मी नगरपालिकालाई समृद्ध बनाउन सबै जनप्रतिनिधि र कर्मचारी मिलेर लाग्नुपर्ने बताए। उनले सडक पूर्वाधार विकासमा विशेष जोड दिनुपर्ने भन्दै “काभ्रे र भक्तपुर जोड्ने सडकलाई फराकिलो बनाउनेतर्फ लाग्नुपर्छ, त्यसो गर्न सके राष्ट्रिय राजमार्गसँग सीधा सम्बन्ध स्थापित हुन्छ,” भने।

महर्जनले ग्वार्कोको फ्लाईओभर सञ्चालनमा आएपछि ट्राफिक समस्या कम भएको बताए। उनले संघीय सांसदको तर्फबाट २१ करोड रुपैयाँको बजेट विनियोजन भइसकेको भन्दै गोदावरी खोला र कर्मनाशा खोलाको करिडोर विकासमा योजना पठाइएको जानकारी दिए।

नगरसभामा नगरगानका रचनाकार, हरियाली प्रवर्द्धनमा सहयोग पुर्‍याउने संघसंस्था र व्यक्तिहरूलाई सम्मान गरिएकाे पनि जानकारी दिइएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।