काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले आगामी चार वर्षभित्र काठमाडौं उपत्यकामा २४ सै घण्टा र वर्षभरि खानेपानी उपलब्ध गराउने दाबी गरेका छन्।
सोमबार प्रतिनिधिसभामा खानेपानी मन्त्रालयको विनियोजनमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री यादवले काठमाडौंको दीर्घकालीन खानेपानी समस्या समाधान गर्न आवश्यक तयारी भइसकेको जानकारी दिए।
‘मेलम्चीमा दीर्घकालीन रूपमा काम भइरहेको छ,’ मन्त्री यादवले भने, ‘काठमाडौंमा ४ वर्षभित्र २४ सैं घण्टा, १२ महिना पानी आउँछ। यो कुरा कागजमा मात्रै होइन, टेन्डर आह्वान भइसकेको छ र त्यसको लागि आर्थिक स्रोतको पनि व्यवस्था भइसकेको छ।’
उनले मन्त्रालयको बजेट पहुँचका आधारमा नभई आवश्यकताको आधारमा विनियोजन गरिएको स्पष्ट पारे।
‘न प्रधानमन्त्रीको क्षेत्रमा, न पूर्वप्रधानमन्त्री वा ठूला नेताहरूको क्षेत्रमा मात्रै बजेट हालेका छौं,’ मन्त्री यादवले भने, ‘हामीले सन्तुलित हिसाबले बजेट बनाएका छौं। सांसदहरूले रिस होइन मायाप्रेमले विनियोजन पास गरिदिन अनुरोध गर्छु।’
उनका अनुसार बजेट विनियोजन गर्दा राजनीतिक पहुँचको होइन, वास्तविक आवश्यकता, योजना र दीर्घकालीन असरको मूल्यांकनको आधारमा निर्णय गरिएको हो।
सांसदहरूले बजेट बाडफाँटमा सत्ता पक्षका नेताहरूको प्रभाव देखिएको भन्ने आरोप लगाएपछि मन्त्री यादवले आफूले कुनै प्रकारको पक्षपात नगरेको दाबी गरेका हुन्।
Comment