काठमाडौं सरकारले हमास समूहले बन्दी बनाएका नेपाली नागरिक विपिन जोशीको अवस्था अहिलेसम्म अज्ञात रहेको जनाएको छ।
सोमबार प्रतिनिधिसभाको बैठकमा मन्त्रालयगत बजेट छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले विपिन जोशीको अवस्थाबारे हालसम्म पत्ता नलागेको जानकारी दिइन्।
‘विपिन जोशीको रिहाइका लागि हामीले सक्दो प्रयास गरेका छौँ,’ मन्त्री राणाले भनिन्, ‘सम्माननीय प्रधानमन्त्री स्वयंले इजिप्टका राष्ट्रपतिलाई फोन गरेर अपिल गर्नुभएको छ। सभामुख देवराज घिमिरेले अरब संसद्का अध्यक्षलाई पत्र लेख्नुभएको छ।’
उनले आफैंले पनि कतार, संयुक्त अरब इमिरेट्स, इजिप्ट, टर्की र इरानका परराष्ट्र मन्त्रीलाई पत्रमार्फत अनुरोध गरेको र ओमानमा आयोजित इन्डियन ओसियन कन्फ्रेन्समा प्रत्यक्ष भेटघाट गरी कुरा उठाएको जानकारी दिइन्।
‘हामीले भगवानसँग प्रार्थना गरौँ, नेपालका छोरा विपिन जोशी सकुशल छन्,’ उनले भनिन्, ‘कुनै दिन उहाँ नेपाल फर्किनेछन् भन्ने आशामा छौँ।’
उनले विपिन जोशीको खोजीमा हार मान्न नहुने भन्दै सरकार निरन्तर अन्तर्राष्ट्रिय फोरमहरूमा यो विषय उठाइरहेको बताइन्।
झन्डै दुई वर्षअघि हमासले इजरायलमाथि आक्रमण गर्दा विपिन जोशी पनि अपहरणमा परेका थिए। उनी त्यसबेला अध्ययनका लागि इजरायल गएका थिए।
सांसदहरूको अन्य जिज्ञासाको जवाफ दिँदै मन्त्री राणाले इरानमा हाल १६ जना नेपाली रहेका जानकारी समेत दिइन्। तीमध्ये ११ जना मसाद भन्ने स्थानमा रहेको र ५ जना अवैध रूपमा गएकाले जेलमा रहेको जानकारी उनले दिइन्।
Comment