काठमाडौं । नेपाल शिक्षक महासंघका पदाधिकारीहरूले आज नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग खुमलटारस्थित निवासमा भेटवार्ता गरेका छन्।
भेटमा महासंघका प्रतिनिधिहरूले सरकारले शिक्षकहरूसँग गरिएका सहमति कार्यान्वयनमा उदासीनता देखाएको भन्दै ती सहमति तुरुन्त लागू गराउन विपक्षी दलको बलियो समर्थन आवश्यक रहेको बताएका थिए।
शिक्षकहरूको गुनासो र माग सुनेपछि अध्यक्ष दाहालले शिक्षक पेशा राष्ट्र निर्माणसँग गाँसिएको सम्मानित पेशा भएको उल्लेख गर्दै सरकार उनीहरूप्रति जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरे।
‘शिक्षकहरूलाई सम्मान गर्नुपर्छ, किनभने उनीहरू देशको भविष्य निर्माणकर्ताहरू हुन्,’ अध्यक्ष दाहालले भने, ‘सरकार र शिक्षक महासंघबीच भएको सहमति कार्यान्वयन नहुनु दुर्भाग्यपूर्ण हो।’
उनले सदनको अवरोध हटाउने निर्णय शिक्षकका मागलाई बहाना नबनाउन सरकारले भनेर गरिएको पनि स्पष्ट पारे। साथै, प्रारम्भिक बालविकास कक्षालाई विद्यालयको संरचनाभित्र समेट्नुपर्ने आवश्यकता औँल्याउँदै शिक्षकका जायज मागहरू सर्तबिना तुरुन्त पूरा गर्नुपर्नेमा उनले जोड दिए।
महासंघका पदाधिकारीहरूले शिक्षा क्षेत्रलाई अनिश्चितताको चपेटाबाट मुक्त गराउन र सरकारसँग भएका सहमति कार्यान्वयनमा प्रतिपक्षबाट आवश्यक पहलको आग्रह गरेका थिए।
Comment