काठमाडौं । अमेरिकाले इरानका तीन आणविक सुविधाहरूमा शनिबार साँझ गरेको आक्रमणपछि तेलको मूल्यमा उल्लेखनीय वृद्धि छ । ब्रेन्ट क्रूडको मूल्य २.७ प्रतिशतले वृद्धि भएर प्रति ब्यारेल ७९.१२ डलर पुगेको छ भने अमेरिकी क्रूड २.८ प्रतिशतले बढेर ७५.९८ डलर पुगेको छ ।
अमेरिकाले इजरायलसँग मिलेर इरानको आणविक सुविधाहरूमा आक्रमण गरेपछि एसियाली सेयरबजारहरू ओरालो लागेको थियो । तेलको मूल्य सोमबार पाँच महिनाकै उच्च बिन्दुमा पुगेको एनडीटीभीले जनाएको छ ।
तेलको मूल्य दुई प्रतिशतभन्दा माथि उक्लिएको छ, यो जनवरीयताकै उच्च हो । यसले विश्वव्यापी गतिविधि र मुद्रास्फीतिमा जोखिम निम्त्याएको समाचारमा उल्लेख छ ।
इरान विश्वको नवौँ ठूलो तेल उत्पादक राष्ट्र हो जसले दैनिक करिब ३.३ मिलियन ब्यारेल तेल उत्पादन गर्छ । त्यसको करिब आधा मात्र निर्यात गरिन्छ भने बाँकी घरेलु खपतका लागि राखिन्छ ।
विश्लेषकहरूका अनुसार इरानले अमेरिकाको कारबाहीको प्रतिकारमा स्ट्रेट अफ होरमुज बन्द गर्ने निर्णय गर्छ भने यो विश्वव्यापी ऊर्जा आपूर्तिमा गम्भीर असर पार्न सक्छ।
Comment