भद्रपुर (झापा) । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा कुल १४ अर्ब ४३ करोड ९२ लाख ३८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ । यो सङ्ख्या सोही अवधिको लक्ष्यको ९१.५६ प्रतिशत हो ।
कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार, चालु आर्थिक वर्षको जेठसम्ममा राजस्व सङ्कलनको लक्ष्य १५ अर्ब ७७ करोड १९ लाख ४६ हजार रुपैयाँ थियो । गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा १६ अर्ब ६७ करोड २८ लाख ४० हजार रुपैयाँको लक्ष्य राखिएको थियो भने ७७.५६ प्रतिशत मात्र राजस्व सङ्कलन भएको थियो ।
यस वर्ष मेची भन्सारबाट पेट्रोलियम पदार्थ आयातबाट सबैभन्दा बढी रु ८ अर्ब ७८ करोड २७ लाख ७२ हजार (६०.८१ प्रतिशत) राजस्व सङ्कलन भएको छ । त्यस्तै, तरकारी आयातबाट ६२ करोड ४४ लाख ९६ हजार, यातायातका साधन तथा पाटपुर्जाबाट ४० करोड ७४ लाख ५० हजार, खनिज उत्पादनबाट २७ करोड ५१ लाख ९१ हजार, कफीबाट २१ करोड ५४ लाख ७० हजार र दलहनबाट २० करोड ७७ लाख ३९ हजार राजस्व सङ्कलन भएको जानकारी दिइएको छ ।
चालु आवको ११ महिनामा मेची भन्सारबाट २३ अर्ब २८ करोड ३५ लाख ५६ हजार रुपैयाँ बराबरको वस्तु निर्यात हुँदा २३ करोड ७५ लाख १९ हजार राजस्व सङ्कलन भएको छ भने ४० अर्ब ७७ करोड ६ लाख ४८ हजार बराबरको वस्तु आयात हुँदा १४ अर्ब २० करोड १७ लाख १८ हजार राजस्व सङ्कलन भएको छ ।
मेची भन्सारले यस वर्ष राजस्व सङ्कलनमा सुधार ल्याउँदै लक्ष्य नजिक पुगेको छ।
Comment