काठमाडौँ । फिफा क्लब विश्वकप अन्तर्गत समूह एचको खेलमा स्पेनिस क्लब रियल मड्रिडले मेक्सिकोको क्लब पाचुकामाथि ३–१ को सहज जित निकाल्दै समूहको शीर्ष स्थानमा कब्जा जमाएको छ।
आइतबार राति भएको खेलमा रियलका लागि जुड बेलिङघम, आर्डा गलर र फ्रेड्रिको भाल्भार्डेले गोल गर्दै टोलीलाई विजयी बनाए। पाचुकाका एलियास मोन्टेसले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
खेलको सुरुआती क्षणमै रियल मड्रिड १० खेलाडीमा सीमित भएको थियो। राउल एसेननिसियाले खेलको सातौँ मिनेटमा रातो कार्ड पाएका थिए। यद्यपि, संख्यात्मक कमजोर भए पनि रियलले उत्कृष्ट प्रदर्शन गर्दै तीन गोल गरेको थियो।
यो जितसँगै रियल मड्रिडले दुई खेलमा ४ अंक जोड्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ। लगातार हार बेहोरेको पाचुका भने अंकविहीन छ।
यसै समूहको अर्को खेलमा रेड बुल साल्जबर्ग र अल हिलालबीच गोलरहित बराबरी भएको थियो।
Comment