बढ्यो वैदेशिक व्यापार घाटा, कुन देशसँग कति?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा (साउनदेखि जेठसम्म) नेपालले १३ खर्ब ९७ अर्ब २२ करोड रुपैयाँभन्दा बढीको व्यापार घाटा व्यहोरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.३० प्रतिशतले बढी हो। गत वर्ष सोही अवधिमा नेपालले १३ खर्ब १४ अर्ब ४४ करोड रुपैयाँको व्यापार घाटा बेहोरेको थियो।

भन्सार विभागका अनुसार सो अवधिमा नेपालले १६ खर्ब ४४ अर्ब ७९ करोड रुपैयाँको वस्तु तथा सामग्री आयात गरेको छ भने निर्यात भने २ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको मात्र भएको छ।

विभागका अनुसार सबैभन्दा ठूलो व्यापार घाटा भारतसँग भएको छ। भारतबाट ९ खर्ब ७७ अर्ब १३ करोड रुपैयाँको वस्तु आयात भएको छ भने नेपालबाट भारतमा २ खर्ब ८९ करोड रुपैयाँको मात्रै निर्यात भएको छ। जसअनुसार भारतसँगको व्यापार घाटा ७ खर्ब ७६ अर्ब २३ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, चीनसँग पनि नेपालको व्यापार घाटा उच्च देखिएको छ। चीनबाट २ खर्ब १४ अर्ब ५७ करोड रुपैयाँको सामान आयात भएको छ भने निर्यात २ अर्ब ४८ करोड रुपैयाँमा सीमित भएको छ।

अन्य प्रमुख देशहरूमध्ये अर्जेन्टिनासँग ८६ अर्ब ४० करोड रुपैयाँको व्यापार घाटा भएको छ। युक्रेनसँग २४ अर्ब २४ लाख, युएईसँग २२ अर्ब १९ करोड, अस्ट्रेलियासँग १७ अर्ब २८ लाख, इन्डोनेसियासँग १३ अर्ब ५६ करोड, थाइल्यान्डसँग १३ अर्ब २ करोड, मलेसियासँग १२ अर्ब ५१ करोड र ब्राजिलसँग १० अर्ब ५९ करोड रुपैयाँको व्यापार घाटा भएको छ।

व्यापार घाटाको यो बढ्दो अवस्था चिन्ताजनक बन्दै गएको छ। आयातमा निर्भरता बढिरहेको र निर्यातमा अपेक्षित सुधार नआएको अवस्था रहेको विज्ञहरूको भनाइ छ। उनीहरूका अनुसार निर्यात प्रवर्द्धन र घरेलु उत्पादनमा आधारित नीतिगत सुधार बिना व्यापार घाटा नियन्त्रणमा ल्याउन सकिने देखिँदैन।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।