ललितपुर । डिजिटल मिडिया फाउण्डेशन र नेपाल पत्रकार महासंघ ललितपुर शाखाको संयुक्त आयोजनामा खोज पत्रकारिता, डिजिटल पत्रकारिता र एआई सम्बन्धी तालिम सम्पन्न गरिएको छ । ललितपुरको हिमालयन होटलमा शुक्रबार सम्पन्न तालिममा जिल्लाका २५ जना सक्रिय पत्रकारलाई सो तालिम प्रदान गरिएको हो ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगिता खड्काले प्रविधिको विकाससँगै पत्रकारको पनि प्राविधिक ज्ञान हुन जरुरी रहेकी बताएकी छिन् । अध्यक्ष खड्काले समाचार लेखनसँगै डिजिटल प्रविधिको प्रयोग सम्बन्धि ज्ञान हुन जरुरी भएको बताइन् ।
प्रविधिको ज्ञानले समाचार सङ्कलनमा सहजता प्रदान गर्ने भन्दै उनले नयाँले मात्र होइन, पुराना पत्रकारहरुले पनि प्रविधिको प्रयोग गरेर समाचारकक्षलाई अझ प्रभावकारी बनाउन सक्ने बताइन् ।
तालिमका प्रशिक्षक प्रवेश सुवेदी र उमेश श्रेष्ठ थिए । उनीहरुले प्रविधिको प्रयोज, अनलाईन स्रोत तथा एआइ प्रयोग कसरी गर्ने भन्ने सन्दर्भमा पत्रकारहरुलाई प्रशिक्षण दिए । प्रशिक्षणका क्रममा प्रशिक्षक सुवेदीले खोज पत्रकारिता र अहिले डिजिटल प्रविधि तथा त्यसका टुल्सबारे पत्रकारहरुलाई जानकारी गराएका थिए । उनले पत्रकारले सूचना लिन र दिन के कस्ता गुगल टुल्स प्रयोग गर्ने भन्ने सन्दर्भमा पत्रकारहरुलाई जानकारी गराए । त्यस्तै खोजी पत्रकारिताको लागि कसरी विषय उठान गर्ने र गहिराईमा कसरी पुग्ने भन्ने सन्दर्भमा सुवेदीले स्पष्ट पारे ।
त्यस्तै अर्का प्रशिक्षक उमेश श्रेष्ठले अहिलेको दुनियाँमा जोगिएर प्रविधिको प्रयोग गर्नुपर्ने र प्रविधिलाई सहायताका रूपमा लिँदा समाचार सङ्कलन र तथ्य जाँचमा सहज हुने बताए ।
कार्यक्रममा इन्टरनेश्नल अलर्टकी प्रतिष्ठा थापाले पत्रकारितालाई प्रभावकारि बनाउन आफूहरूले तालिममा सहयोग गरिरहेको र भोलिका दिनमा पनि यस्ता कार्यक्रम गरिने बताइन् ।
नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले डिजिटल मिडिया पत्रकारिता तालिमका कारण पत्रकारको क्षमता अभिवृद्धिसँगै सामाजिक रूपान्तरणमा पत्रकारको भूमिका महत्वपूर्ण हुने बताए । जिल्लामा क्रियाशील पत्रकारलाई डिजिटल प्रविधिबारे नयाँ विषयवस्तुका बारेमा जानकारी दिनको लागि तालिमको आयोजना गरेको उनको भनाइ छ । प्रविधिको विकाससँगै सञ्चारमाध्यम र सञ्चारकर्मी पनि त्यही रुपमा अघि बढ्नुपर्ने वास्तविकतालाई दृष्टिगत गरी लाग्नुु पर्ने उनले बताए ।
युरोपियन युनियनको आर्थिक सहयोग, इन्टरनेश्नल अलर्टको प्राविधिक सहयोगमा तालिम भएको थियो । कार्यशालामा उपस्थित पत्रकारहरुले कार्यशालापछि धेरै प्राविधि ज्ञान प्राप्त भएको बताएका थिए ।
Comment