काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त स्थान र राष्ट्रियसभामा रिक्त हुन गइरहेको निर्वाचन गर्ने बिषयमा परामर्श गरेको छ।
प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त दुई पद र राष्ट्रियसभामा रिक्त हुन गइरहेको १८ स्थानको निर्वाचन गर्ने विषयमा छलफल भएको हो। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरुले शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई भेटेर निर्वाचन तय गर्ने विषयमा छलफल गरेका थिए।
प्रतिनिधिसभा सदस्यको रुपन्देही क्षेत्र नं ३ र गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नं १ (२) को पद रिक्त छ । स्थानीय तहमा १३ वटा वडाध्यक्षको पद रिक्त रहेको बताइएको छ।
छलफलमा प्रधानमन्त्री ओलीले निर्वाचनका लागि आयोगले गरेको तयारीअनुसार आवश्यक सहजीकरणका लागि नेपाल सरकारका तर्फबाट सहयोग हुने विश्वास दिलाए। ओलीले आगामी आवधिक निर्वाचनका लागि गर्नुपर्ने तयारी पनि गर्दै गर्न आयोगलाई सुझाव दिएका थिए।
Comment