ललितपुर । विद्यालय मनोविमर्श तथा मनोवैज्ञानिक आरोग्यता विषयमा केन्द्रित भएर पहिलो पटक राष्ट्रियस्तरको सम्मेलन आगामी शुक्रबार ललितपुरमा हुने भएको छ।
“दिगो खुसीका लागि स्वरूपान्तरण” भन्ने मूल विषयवस्तुमा केन्द्रित रहेर आयोजना गरिने सम्मेलनको संयोजन काठमाडौं विश्वविद्यालयका उपप्राध्यापक डा. श्रीकृष्ण वाग्लेले गरेका हुन्। उनले सम्मेलनको उद्देश्य नीतिगत तहबाट विद्यालय मनोविमर्श र मनोवैज्ञानिक आरोग्यताको पैरवी गर्नु रहेको बताए।
“हालको सन्दर्भमा विद्यालयमा विद्यार्थीको मानसिक, सामाजिक तथा भावनात्मक पक्षलाई सम्बोधन गर्न मनोपरामर्श आवश्यक बनेको छ,” उनले भने, “यही आवश्यकता अनुभूत गरी सम्मेलनमार्फत छलफल, बहस र सुझावमार्फत नीतिगत पहललाई सघाउने उद्देश्य राखिएको हो।”
सम्मेलनमा सामाजिक अभियन्ता, विद्यालय सञ्चालक, शिक्षक, विद्यार्थीलगायत विभिन्न क्षेत्रका १२५ भन्दा बढीको सहभागिता रहने जानकारी काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक माधव खतिवडाले गराए।
उक्त सम्मेलन शिक्षालाई मनोसामाजिक सन्दर्भसँग जोड्ने प्रयोजनले आयोजना गरिएको मनोपरामर्शदाता रासिका पोखरेलले बताइन्। उनले विद्यालय मनोविमर्शले विद्यार्थीको समग्र आरोग्यतालाई प्रवर्धन गर्न मद्दत पुर्याउने बताइन्।
सम्मेलनमा अनुसन्धानमा आधारित आठ वटा कार्यपत्रहरू प्रस्तुत गरिने र तीमाथि गहन छलफल तथा समूहगत संवाद गरिने जानकारी आयोजक पक्षले दिएको छ।
नेपालको सन्दर्भमा विद्यालय मनोविमर्श र मनोवैज्ञानिक आरोग्यताको विषयमा यो सम्मेलनले नयाँ बहसको सुरुवात गर्ने अपेक्षा गरिएको छ। यसै सन्दर्भमा काठमाडौं विश्वविद्यालय, स्कुल अफ एजुकेशनअन्तर्गत स्कुल काउन्सिलिङ एण्ड साइकोलोजिकल वेलबिइङ युनिटमार्फत स्नातकोत्तर एक वर्षे, दुई वर्षे, दर्शनाचार्य तथा विद्यावारिधिका कार्यक्रमहरु सञ्चालन गरिँदै आएको पनि जानकारी गराइएको छ।
Comment