आन्तरिक रोजगारी दशक लागू गर्न लागिएको श्रममन्त्री भण्डारीको भनाइ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले सीपयुक्त जनशक्ति नभएसम्म मुलुकको समुन्नति सम्भव नभएको बताएका छन्।

राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठानले बिहीबार ललितपुरमा आयोजना गरेको ‘सरकारी तथा गैरसरकारी संस्थासँगको अन्तरक्रिया गोष्ठी’मा मन्तव्य दिँदै मन्त्री भण्डारीले आन्तरिक रोजगारीलाई प्राथमिकतामा राख्दै मन्त्रालयले ‘आन्तरिक रोजगार दशक’ लागू गर्ने तयारी गरेको जानकारी दिएका हुन्।

“अब मन्त्रालयले आन्तरिक रोजगारीको सिर्जना गरेर अगाडि बढ्नुपर्छ भन्ने निष्कर्षमा पुगेको छ,” मन्त्री भण्डारीले भने, “बाध्यात्मक वैदेशिक रोजगारीलाई निरुत्साहित गर्नुपर्ने अवस्था छ। अबको काम सूचना प्रविधिको क्षेत्रमै केन्द्रित हुनुपर्छ।”

सरकारी रोजगारी मात्र रोजगारी हो भन्ने सोच त्याग्नुपर्नेमा जोड दिँदै मन्त्री भण्डारीले निजी क्षेत्रले सिर्जना गर्ने रोजगारीलाई पनि समुन्नतिको आधारका रूपमा लिनुपर्ने धारणा राखे। उनले भने, “निजी क्षेत्रसँग सहकार्य नगरी आर्थिक समृद्धि सम्भव छैन। दृष्टिकोणमा पनि परिवर्तन गर्नुपर्छ। समस्याहरू हामीले नै सिर्जना गरेका हौं, समाधान पनि हामीले नै गर्नुपर्छ।”

श्रम मन्त्रालयले विगतमा वैदेशिक रोजगारी मात्र केन्द्रमा राखेको जस्तो देखिए पनि अब आन्तरिक रोजगारीको विस्तारमा ध्यान दिइएको जानकारी मन्त्री भण्डारीले दिए। उनले मन्त्रालयमै आन्तरिक रोजगार महाशाखा स्थापना गरी काम अघि बढाइएको बताए। साथै, वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको सीप उपयोग गर्दै श्रम क्षेत्रमा आउने चुनौतीहरूको सामना गर्न सबै पक्षले उत्तरदायी भूमिका निर्वाह गर्नुपर्नेमा पनि जोड दिए।

कार्यक्रममा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले झिँगटी छानाले ढाकिने सम्पदा संरचना र पुरातात्त्विक निर्माणमा प्रयोग हुने दक्ष जनशक्ति अत्यन्तै कम रहेको बताएका छन्। उनले महानगरले आवश्यकतालाई मध्यनजर गर्दै तालिम केन्द्रित कार्यक्रम अघि बढाएको जानकारी दिए। “१२ वटा तालिम लिएर पनि बेरोजगार छन् भन्ने उदाहरण छ,” उनले भने, “तालिम केवल तालिमका लागि सीमित हुनुहुँदैन।”

श्रम मन्त्रालयका सचिव डा. कृष्णहरि पुस्करले रोजगार क्षेत्रको समग्र चक्रलाई सुधार्न मन्त्रालयले उल्लेखनीय कार्यहरू अघि बढाएको बताएका छन्। उनले प्रतिष्ठानमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारको माग अनुसार निजी क्षेत्रसँग सहकार्य गर्दै तालिम सञ्चालन र नीतिगत सुझाव दिनेसम्मको प्रयास भइरहेको जानकारी दिए।

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मलहोत्राले दक्ष जनशक्तिको विकासले मुलुकको आर्थिक समृद्धिमा ठुलो योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले नेपालमै रोजगारीको अवसर सिर्जना हुने वातावरण बनेको बताए।

घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले श्रम मन्त्रालयले प्रभावकारी ढंगले काम अघि बढाएको उल्लेख गरे। उनले मन्त्रालयको गतिशीलताले नयाँ ऊर्जा थपिएको अनुभव गराएको भन्दै दक्ष जनशक्ति निर्माणमा संस्थाले सहकार्य गर्न तत्पर रहेको बताए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।