काठमाडौं । नेपाल सरकारले इजरायल र इरानबीच बढ्दो द्वन्द्वका कारण त्यहाँ यात्रा नगर्न नेपाली नागरिकलाई आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयले बिहीबार ‘यात्रा सल्लाह’ जारी गर्दै हालको संवेदनशील अवस्थालाई मध्यनजर गर्दै इजरायल र इरानतर्फको भ्रमण, ट्रान्जिट वा वैदेशिक रोजगारको लागि जाने योजना तत्काल स्थगित गर्न आग्रह गरेको हो।
मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हालको असहज परिस्थितिमा इजरायल वा इरान बाहेकका मध्यपूर्वीय मुलुकतर्फको भ्रमण तथा वैदेशिक रोजगारीका लागि जान लागेका नेपाली नागरिकहरूले पनि यात्रा स्थगन गर्नु उपयुक्त हुनेछ।’
इजरायल र इरानमा रहेका नेपाली नागरिकलाई मन्त्रालयले उच्च सतर्कता अपनाउन आह्वान गरेको छ। भिडभाडयुक्त स्थानमा जान नहुने, स्थानीय सुरक्षा निकायको निर्देशन पालना गर्ने र आवश्यक परेमा त्यहाँबाट सुरक्षित रुपमा बाहिरिन समेत सल्लाह दिइएको छ।
साथै त्यहाँ कार्यरत तथा अध्ययनरत नेपाली नागरिकहरूलाई निर्धारित समय बाहेक बाहिर ननिस्कन, नेपाली दूतावासको सम्पर्कमा रहन तथा नियमित सूचना अनुगमन गर्न मन्त्रालयले आग्रह गरेको छ।
मन्त्रालयले इजरायल वा इरान जान लागेका नेपाली नागरिकलाई हालको संवेदनशील परिस्थिति हेरी यात्रा योजना पुनरावलोकन गर्नसमेत सुझाव दिएको छ।
Comment