काठमाडौं । नेपालले आज त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत नेदरल्यान्ड्ससँग दोस्रो खेल खेल्दैछ। पहिलो खेलमा तीन सुपर ओभरसम्म पुगेको रोचक भिडन्तमा पराजित भएको नेपाल आजको खेलमा बदला लिने दाउमा छ।
दुई खेलबाट दुई अंक बनाएको नेपाल तालिकाको तेस्रो स्थानमा छ भने तीन खेलबाट चार अंक बनाएको नेदरल्यान्ड्स शीर्ष स्थानमा छ।
पहिलो खेलमा स्कटल्यान्डलाई ३९ रनले हराएको नेदरल्यान्ड्स दोस्रो खेलमा नेपाललाई सुपर ओभरमा हराउँदै तेस्रो खेलमा स्कटल्यान्डलाई १७ रनले पराजित गरिसकेको छ। नेपालले भने स्कटल्यान्डसँगको तेस्रो खेल दुई विकेटले जितेको थियो।
रोहित पौडेलको कप्तानीमा रहेका नेपाली टोलीमा सोमपाल कामी, गुल्सन झा र नन्दन यादव घाइते भएका छन्। उनीहरूको स्थानमा लोकेश बम, किरण ठगुन्ना, रुपेश सिंह र बसिर अहमदले मौका पाएका छन्।
नेपाल र नेदरल्यान्ड्सबीचको खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।
Comment