मकै
हलोको फालिले बनाएको
बाङ्गोटिङ्गो राजमार्गमा,
खाल्डा–खुल्डीमा लुकेर बसेँ
जस्तै अहिले राजमार्गमा देखिन्छन्
नि पाइलैपिच्छे खोपिल्टाहरू।
त्यहींभित्र टुसाउँदै,
माटोको पाप्राहरूको थिचाइमा,
मसलधारे वर्षातको हिर्काइमा,
मुस्किलले उठेँ मटमैलो भएर।
खम्बा झैँ भएँ हुरिमा,
लोखर्के, चरासँग लुक्न,
आफूलाई पुष्ट बनाउन खोस्टाका लुगा लगाउँदै।
घामले डामिने भयले खुब आतिएर बाँचेँ,
घामकै न्यानो पाउन।
किसान निगालाको डोको बोकेर
आउँदैछ,
म काँपिरहेछु,
भयभीत छु,
र प्रश्न गरिरहेछु आफैंलाई—
यतिबिघ्न संघर्ष र हण्डरपछि
के कसैलाई सम्पूर्ण अस्तित्व सुम्पिनु हो?
कतै अन्याय छैन यो धरामा?
प्रल्हाद पुडासैनी
Comment