पालुङटारको नीति तथा कार्यक्रम : कृषकको हात, स्थानीय सरकारको साथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । पालुङटार नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेकाे छ। १७ औँ नगरसभामा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारी र समावेशी शासन प्रणालीलाई प्राथमिकतामा राख्दै नगर प्रमुख विवश चिन्तनले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

‘कृषकको हात, स्थानीय सरकारको साथ’ भन्ने मूल नारासहित सुशासन, समावेशीता र स्थानीय सशक्तीकरणमा केन्द्रित योजनाहरू सार्वजनिक गरेका हुन्। यस वर्षको नीति तथा कार्यक्रममा पालुङटारले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने उद्देश्यसहित कृषि क्षेत्रमा विशेष प्राथमिकता दिएको छ।

स्थानीय बीउको प्रवर्द्धन, अर्ग्यानिक खेती, यान्त्रिकीकरण, सिँचाइ विस्तार, मल र बीउको अनुदान, बाख्रापालन, दुग्ध उत्पादनमा प्रोत्साहनसहितको कार्यक्रमले कृषकहरूको जीवनस्तर उकास्ने अपेक्षा गरिएको छ। चिस्यान केन्द्र र दूध संकलन केन्द्र निर्माण, हाटबजार विस्तार र कृषक परिचयपत्र प्रणाली लागू गरेर उत्पादन, बजारीकरण र कृषक पहिचानलाई संस्थागत बनाउने नीति लिइएको छ। साथै, पालुङटारलाई पूर्ण खोपयुक्त नगरपालिका बनाउने लक्ष्यसहित पशुपन्छी खोप कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाइनेछ।

रोजगारी र उद्यम प्रवर्द्धनको क्षेत्रमा नगरपालिकाले लघु उद्यमशीलता, घरेलु उद्योग र सीपमूलक तालिमलाई प्राथमिकतामा राखेको छ। वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई स्थानीय उद्यममा संलग्न गराउने नीति बनाइएको छ भने तालिम, उपकरण खरिद र बजार विस्तारमा अनुदान व्यवस्था गरिने उल्लेख छ। दलित, महिला र सीमान्तकृत समुदायका लागि कोसेली घर स्थापना गरेर परम्परागत सीप र स्थानीय उत्पादनको व्यावसायिक उपयोग गरिनेछ।

पर्यटन क्षेत्रको समृद्धिलाई विकासको मेरुदण्ड मानेर पालुङटारले ऐतिहासिक, धार्मिक र प्राकृतिक सम्पदाको संरक्षण, प्रचार प्रसार र पूर्वाधार विकासलाई एकसाथ अघि बढाउने योजना बनाएको छ। लिगलिगकोट, मिरकोटगढी, तातोपानीजस्ता स्थलहरूको प्रवर्द्धन, पदमार्ग निर्माण, होमस्टे सञ्चालन, पर्यटक सूचना केन्द्र स्थापना र पुराना घरलाई मौलिक शैलीमा पुनर्निर्माण गर्न नक्सा पासमा सहुलियत दिने कार्यक्रमले पर्यटनमैत्री वातावरण सृजना गर्नेछ।

शिक्षा क्षेत्रमा गुणस्तरीयता, पहुँच र समावेशितालाई ध्यान दिँदै नगरस्तरीय परीक्षा, शिक्षक मूल्यांकन प्रणाली, बालमैत्री विद्यालय अभियान, छात्रवृत्ति व्यवस्थापन र विद्यालय व्यवस्थापन समितिको क्षमता विकासमा जोड दिइएको छ। जलवायु परिवर्तनप्रति सचेतना फैलाउन ‘भविष्यका लागि शुक्रवार’ अभियान सुरु गरिँदैछ, जसअन्तर्गत प्रत्येक शुक्रवार विद्यालयमा वातावरणीय शिक्षा दिइनेछ। डिजिटल सिकाइ, पोषणयुक्त खाजा, अपाङ्ग बालबालिकाका लागि विशेष कार्यक्रम र विद्यालय स्तरीय प्रतियोगिता पनि नीति अन्तर्गत समेटिएका छन्।

स्वास्थ्य क्षेत्रमा पालुङटारले ‘झोलामा प्रयोगशाला’ कार्यक्रम ल्याएर वृद्ध वृद्धाका लागि घरमै स्वास्थ्य सेवा पुर्‍याउने योजना बनाएको छ। गर्भवती महिला, सुत्केरी र शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै पोषण, औषधि, मानसिक स्वास्थ्य सेवा, प्राथमिक उपचार केन्द्रहरूको स्तरोन्नति र मोबाइल स्वास्थ्य इकाई सञ्जाल विस्तार गरिने निति तथा कार्यक्रममा उल्लेख छ। यसैगरी पालुङटारलाई स्वास्थ्यमैत्री नगरपालिका बनाउने दीर्घकालीन लक्ष्य पनि नीतिमा स्पष्ट उल्लेख गरिएको छ।

पर्यावरण संरक्षणका क्षेत्रमा ‘एक घर, एक धारो’ अभियान, प्लास्टिकमुक्त नगरपालिका घोषणा, जैविक फोहोर प्रशोधन केन्द्र स्थापना, फोहोरबाट मल, ग्यास, ऊर्जा उत्पादन र टोलस्तरीय समुदाय सशक्तीकरणलाई कार्यान्वयनमा लैजाने तयारी गरिएको छ। सार्वजनिक स्थलहरूमा शौचालय, धारो र प्रतीक्षालय निर्माण गरिनेछ भने फोहोर व्यवस्थापनमा ‘कम गरौँ, पुनः प्रयोग गरौँ, पुनः प्रशोधन गरौँ’ भन्ने सिद्धान्त व्यवहारमा उतारिने दाबी छ ।

समाजका सीमान्तकृत वर्गहरूलाई समेट्ने उद्देश्यले दलित, अपाङ्गता भएका व्यक्ति, एकल महिला, लैङ्गिक तथा यौनिक अल्पसंख्यकका लागि लक्षित कार्यक्रम घोषणा गरिएको छ। सामाजिक सुरक्षा भत्ता, परम्परागत सीप अभिवृद्धि, र आधुनिक प्रविधिसँग स्थानीय सीपको समायोजनमार्फत उनीहरूलाई आत्मनिर्भर बनाउने प्रयास गरिनेछ।

पूर्वाधार विकास अन्तर्गत सडक सञ्जाल, पार्क, पुल, सार्वजनिक भवन, यात्री प्रतीक्षालय, बत्ती व्यवस्थापन, वृक्षारोपण र हरित पूर्वाधारमा लगानी गरिनेछ। विपद् व्यवस्थापनका लागि तत्काल प्रतिक्रिया टोली गठन, पूर्व सूचना प्रणाली विस्तार तथा सतर्कता प्रवाह गर्ने संरचना निर्माण गरिनेछ।

शासन प्रणाली सुधारका लागि कार्यसम्पादन सम्झौता, पारदर्शिता, गुनासो व्यवस्थापन प्रणाली, सेवा प्रवाह अनुगमन र नागरिक सुनुवाइ संयन्त्र लागू गरिने छ। पालुङटारले २०८३ सालभित्र नगरपालिका नै बालमैत्री घोषणा गर्ने प्रतिबद्धता पनि नीति तथा कार्यक्रममा सार्वजनिक गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।