काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा नेपालमा ६० अर्ब रुपैयाँभन्दा बढीको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार साउनदेखि जेठ मसान्तसम्म ७१७ वटा परियोजनाबाट कुल ६० अर्ब ६० करोड ९४ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता जनाइएको हो।
विभागको प्रमाणीकरण प्रणालीबाट ३४७ उद्योगले ५६ अर्ब ७४ करोड रुपैयाँ र स्वचालित प्रणालीमार्फत ३७० उद्योगले ३ अर्ब ८६ करोड रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन्।
सेवा क्षेत्रमा सबैभन्दा बढी, अर्थात् ३० अर्ब ४४ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ भने पर्यटन क्षेत्रमा २३ अर्ब ९४ करोड रुपैयाँ, कृषि तथा वन पैदावार क्षेत्रमा एक अर्ब ४४ करोड, उत्पादनमूलक क्षेत्रमा तीन अर्ब १२ करोड, सूचना प्रविधिमा एक अर्ब ९७ करोड, ऊर्जा क्षेत्रमा दुई करोड ५५ लाख र पूर्वाधार क्षेत्रमा पाँच करोड रुपैयाँको लगानी प्रतिबद्धता देखिएको छ।
लगानी गर्ने उद्योगको वर्गीकरण हेर्दा ७०२ साना, ९ मझौला र ६ ठूला उद्योगमा लगानी भएको देखिन्छ। विभागका अनुसार नीति सुधारका कारण लगानी प्रतिबद्धतामा उल्लेखनीय वृद्धि भएको हो।
नेपाल राष्ट्र बैंकका तथ्याङ्कअनुसार चालु आवको १० महिनामा मात्रै १० अर्ब ६० करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा सात अर्ब पाँच करोड रुपैयाँको लगानी भित्रिएको थियो। यसरी तीन अर्ब ५५ करोड रुपैयाँको वृद्धि देखिएको छ।
यसबाहेक, हालसम्म नेपालमा कुल सात हजार ११६ उद्योगमा पाँच खर्ब ९० अर्ब रुपैयाँभन्दा बढीको लगानी प्रतिबद्धता आइसकेको छ। राष्ट्र बैंकका अनुसार चालु आवको १० महिनामा खुद पुँजीगत ट्रान्सफर पनि आठ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा तीन अर्ब २२ करोड रुपैयाँले बढी हो।
नीतिगत स्थिरता र सुधारसंगै नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको प्रवाह सकारात्मक दिशामा अगाडि बढेको देखिएको छ।
Comment