काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा डिजिटल कारोबारमा मोबाइल बैंकिङ सबैभन्दा बढी प्रयोग भएको देखिएको छ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउनदेखि वैशाखसम्मको अवधिमा मोबाइल बैंकिङमार्फत ५ करोड ७३ लाख ७१ हजार २१५ पटक कारोबार हुँदै ४५ अर्ब ६९ करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
गत वर्ष सोही अवधिमा ४ करोड ६ लाख २९ हजार २२१ पटकमा ३२ अर्ब १ करोड ९० लाख रुपैयाँ कारोबार भएको थियो। यो वर्ष कारोबार संख्या १ करोड ६७ लाख ४१ हजार ९९४ ले र रकम १३ अर्ब ६७ करोड ६४ लाख रुपैयाँले वृद्धि भएको हो। जानकारहरूका अनुसार मोबाइल बैंकिङ छिटो, सहज र विश्वासिलो भएकाले यसको प्रयोग तीव्ररूपमा बढिरहेको छ।
मोबाइल बैंकिङसँगै अर्को लोकप्रिय माध्यम मोबाइल वालेट भए पनि यसको प्रयोगमा हाल केही घटावट आएको देखिएको छ। चालु आर्थिक वर्षको १० महिनामा मोबाइल वालेटबाट ३ करोड ७६ लाख ६४ हजार ४२६ पटकमा ४ अर्ब ४८ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। तर पछिल्लो समय, विशेषगरी असोज महिनामा वालेटमार्फत १६ अर्ब ५६ करोड ८० लाख रुपैयाँ कारोबार हुँदा अघिल्लो भदौ महिनाको तुलनामा १ अर्ब ६ करोड ७० लाख रुपैयाँको गिरावट आएको छ।
त्यस्तै, इन्टरनेट बैंकिङमार्फत कारोबार संख्या बढे पनि असोज महिनामा कारोबार रकम घटेको पाइएको छ। चालु आर्थिक वर्षको १० महिनामा इन्टरनेट बैंकिङबाट ४ लाख ५६ हजार ३५० पटकमा २ अर्ब ६ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। गत वर्षको तुलनामा यो वर्ष कारोबार संख्या १ लाख ७७ हजार ९२६ ले र रकम ७८ करोड ७७ लाखले बढेको हो। तर असोज महिनामा मात्र इन्टरनेट बैंकिङबाट हुने भुक्तानी २३ करोड ४० लाख रुपैयाँले घटेर ११ अर्ब ९५ करोड ९० लाख रुपैयाँमा सीमित भएको राष्ट्र बैंकले जनाएको छ।
यसैबीच, क्युआर कोडबाट हुने कारोबारमा भने सुधार आएको छ। भदौमा १५ अर्ब २ करोड ८० लाख रुपैयाँको भुक्तानी भएकोमा असोजमा यो रकम २ अर्ब ३० करोड ९० लाख रुपैयाँले बढेर १७ अर्ब ३३ करोड ७० लाख रुपैयाँ पुगेको छ। यस्तै, कनेक्ट आइपिएसमार्फत २५ लाख ४ हजार कारोबार हुँदा २४ अर्ब ४३ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ६२ करोड ७६ लाख रुपैयाँले बढी हो।
डेबिट र क्रेडिट कार्डमार्फत हुने कारोबार पनि स्थिर रूपमा अगाडि बढिरहेको छ। १० महिनामा १ करोड २५ लाख ६० हजार ३६२ पटक कार्ड प्रयोग भई १० अर्ब ३४ करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ। गत वर्षको तुलनामा १३ हजार ४२० पटकले बढी कारोबार हुँदा ४४ करोड ३८ लाख रुपैयाँले कारोबार बढेको देखिन्छ।
डिजिटल कारोबारका माध्यमहरूमा मोबाइल बैंकिङ र क्युआर प्रणालीको प्रयोग उल्लेख्य रूपमा बढ्दै गइरहेका छन् भने मोबाइल वालेट र इन्टरनेट बैंकिङमा हाल अस्थायी घटावट देखिएको छ। विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, सरकारी तथा निजी क्षेत्रको प्रवर्द्धन प्रयास र आम जनतामा डिजिटल उपकरणप्रतिको बढ्दो पहुँचले डिजिटल कारोबारको दायरा विस्तार हुँदै गएको राष्ट्र बैंकको निष्कर्ष छ।
Comment