काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान र धार्मिक, सांस्कृतिक पत्रकार समाज (रेक्जोन) को सहकार्यमा ‘विकासका लागि संस्कृति’ विषयक अन्तरक्रिया कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले भूकम्पले क्षतिग्रस्त काठमाडौँ, भक्तपुर र पाटन दरबार क्षेत्रका सम्पदाहरू जस्ताको तस्तै पुनर्निर्माण हुनु विकासको संस्कृतिको जीवन्त उदाहरण भएको बताए। उनले संस्कृति मेरुदण्ड नभएसम्म दिगो विकास सम्भव नरहने धारणा व्यक्त गरे।
प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले चिन्तन प्रणालीलाई संस्कृतिको मूल जरा भन्दै विविधतालाई आत्मसात् गरेर अघि बढ्नुपर्नेमा जोड दिए। सदस्यसचिव डा. धनप्रसाद सुवेदीले भौतिक विकासकै बीचमा संस्कृति ओझेलमा परेको भन्दै यस विषयमा बहस आवश्यक रहेको बताए।
कार्यक्रममा प्रा.डा. सोमप्रसाद खतिवडाले कार्यपत्र प्रस्तुत गरे भने प्रा.डा. निर्मला पोखरेलले वेद विज्ञानसम्मत भएको प्रमाण म्याक्समूलरले गरेको अनुसन्धानबाट पुष्टि भएको बताउँदै वैदिक संस्कृतिअनुसार विकासको बाटो रोज्नुपर्ने धारणा राखिन्।
Comment