काठमाडौं । युरोपेली च्याम्पियन पेरिस सेन्ट-जर्मेन (पीएसजी) ले फिफा क्लब विश्वकप २०२५ को आफ्नो पहिलो खेलमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडलाई ४-० को शानदार जित हासिल गर्दै विजयी सुरुवात गरेको छ।
अमेरिकाको पासाडेनाको रोज बाउल स्टेडियममा ८० हजार ६१९ दर्शकको उपस्थितिमा भएको यो खेलमा पीएसजीले पहिलो हाफदेखि नै बलियो नियन्त्रण कायम राख्यो। खेलको २०औं मिनेटमा फाबियन रुइजले पेनाल्टी क्षेत्रको किनारबाट कम सटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाए।
पहिलो हाफको अन्त्यतिर भिटिन्हाले एट्लेटिकोको डिफेन्सलाई छल्दै गोलरक्षक जान ओब्लाकलाई हराएर दोस्रो गोल थपे। दोस्रो हाफमा एट्लेटिकोका डिफेन्डर क्लेमेन्ट लेन्ग्लेटले दोस्रो पहेँलो कार्ड पाएर मैदान छाडेपछि टोली १० खेलाडीमा सीमित भयो।
खेलको ८७औं मिनेटमा वैकल्पिक खेलाडी सेनी मायुलुले तेस्रो गोल गरे भने अतिरिक्त समयमा ली काङ-इनले पेनाल्टीमार्फत चौथो गोल थपे। पीएसजीले खेलभर ७४ प्रतिशत बल कब्जा राख्यो र ११ सट अन टार्गेट प्रहार गर्यो, जबकि एट्लेटिकोले केवल एक सट अन टार्गेट राख्न सक्यो।
भिटिन्हालाई म्यान अफ द म्याच घोषित गरियो। खेल ३१ डिग्री सेल्सियसको गर्मीमा खेलिएको थियो, जसकारण दुईवटा कुलिङ ब्रेक राखिएको थियो। प्रशिक्षक लुइस एनरिकेले गर्मीले खेलमा प्रभाव पारे पनि टोलीको प्रदर्शन उत्कृष्ट रहेको बताए।
पीएसजीले यो जितसँगै समूह ‘बी’ मा बलियो सुरुवात गरेको छ। अब पीएसजीले १९ जुनमा बोटाफोगो र २३ जुनमा सियाटल साउन्डर्ससँग खेल्नेछ। एट्लेटिकोले भने जुन १९ मा सियाटल साउन्डर्ससँग खेल्दै पुनरागमनको प्रयास गर्नेछ।
गत महिना च्याम्पियन्स लिगमा इन्टर मिलानलाई ५-० ले हराएर पहिलो युरोपेली उपाधि जितेको पीएसजी फिफा क्लब विश्वकपको दाबेदारको रूपमा स्थापित भएको छ। बीबीसी
Comment