काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३३ अर्ब ४७ करोड ७० लाख ४८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले आइतबार प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गरेका हुन्। चालू खर्चतर्फ १० अर्ब २० करोड ८१ लाख ८२ हजार (३०.४९ प्रतिशत) र पुँजीगत खर्चतर्फ १९ अर्ब ८३ करोड २ लाख ६ हजार (५९.२५ प्रतिशत) विनियोजन गरिएको छ।
बजेटमा अन्तर्सरकारी वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ४२ करोड ७७ लाख र वित्तीय व्यवस्थातर्फ १ करोड रुपैयाँ छुट्याइएको छ। चालू आर्थिक वर्ष २०८१/०८२ मा ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँको बजेट रहेकोमा आगामी वर्षका लागि झन्डै २ अर्ब बढाएर बजेट ल्याइएको हो।
सबैभन्दा बढी बजेट भौतिक पूर्वाधार विकास मन्त्रालयमा विनियोजन गरिएको छ। मन्त्रालयका लागि १५ अर्ब ४० करोड ३० लाख १७ हजार रुपैयाँ बजेट छुट्याइएको छ। गत वर्ष यो मन्त्रालयका लागि १४ अर्ब ६० करोड १४ लाख ७४ हजार रुपैयाँ विनियोजन गरिएको थियो। चालु आर्थिक वर्षमा करिब ९ अर्ब रुपैयाँ मात्र बजेट सिलिङ दिइएको भए पनि अन्तिम समयमा बजेट निर्माण प्रक्रियामा भएको खिचातानीपछि सो मन्त्रालयको बजेट करिब १ अर्ब रुपैयाँले बढाइएको हो।
प्रदेश सरकारले सार्वजनिक सेवाको प्रभावकारिता, पूर्वाधार निर्माण, तथा समावेशी विकासलाई प्राथमिकता दिँदै बजेट निर्माण गरेको बताइएको छ। बजेटमाथिको छलफल आगामी बैठकहरूमा हुनेछ।
Comment