बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ। ४२ दिन अवधिका लागि निक्षेप संकलन उपकरण अन्तर्गत बोलकबोल प्रणालीमार्फत यो रकम प्रणालीबाट प्रशोचन गरिने भएको हो।

चालु आर्थिक वर्षको सुरुवातदेखि नै बैंकिङ प्रणालीमा अधिक तरलता देखिएको कारण राष्ट्र बैंकले निरन्तर रूपमा तरलता व्यवस्थापन गर्न थालेको हो। केन्द्रीय बैंकले लामो अवधिका लागि निक्षेप संकलन बोलकबोल, र छोटो अवधिका लागि स्थायी निक्षेप सुविधा (Standing Deposit Facility) मार्फत तरलता खिच्दै आएको छ।

बैंकहरूमा तरलता प्रशस्त भए पनि कर्जा प्रवाह अपेक्षित रूपमा बढ्न नसकेको अवस्थामा, निक्षेपको मात्रा बढिरहँदा प्रणालीमा थप तरलता थुप्रिएको छ। यसले गर्दा मौद्रिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत भारित औसत अन्तरबैंक ब्याजदरलाई नीतिगत दरको नजिक राख्ने उल्लेख गरेको थियो। तर हाल ब्याजदर करिडोरको तल्लो सिमाना, अर्थात् निक्षेप संकलन दर वरिपरि नै रहेको छ, जुन करिब ३ प्रतिशत हो।

हालसम्म राष्ट्र बैंकले प्रशोचन गरेको तरलता ४ खर्ब ३ अर्ब ४० करोड रुपैयाँ पुगेको छ। आइतबार थप ४० अर्ब रुपैयाँ प्रशोचन गरेपछि यो मात्रा अझ बढ्नेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।