काठमाडौँ । आज आइतबार ७ वटै प्रदेशले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि प्रदेशसभामा बजेट प्रस्तुत गर्दै छन् । असार १ गतेभित्र आगामी वर्षको बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक सीमाका कारण आज सातै प्रदेशले बजेट ल्याउन लागेका हुन् ।
स्रोतको सीमितताबीच संघ सरकारको भर पर्ने बाध्यताले प्रदेश सरकारहरू दबाबमा छन्।
कोसी प्रदेशले करिब ३७ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ। मधेस प्रदेशले चालु आवको ४३ अर्ब ८९ करोड बराबरकै बजेट दोहोर्याउने तयारी गरेको बताइएको छ।
बाग्मती प्रदेशले अघिल्लो वर्षको ६४ अर्ब ५४ करोड को तुलनामा यस वर्ष ६६ अर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्ने तयारी गरेको छ।
त्यसैगरी, गण्डकी प्रदेशले करिब ३२ अर्ब रुपैयाँ, लुम्बिनीले अघिल्लो वर्षको ३९ अर्बभन्दा केही कम, कर्णालीले अघिल्लो वर्षकै ३१ अर्ब ४१ करोड जति, र सुदूरपश्चिम प्रदेशले करिब ३२ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेका छन्।
स्रोत संकलनमा चुनौतीका बावजुद सातवटै प्रदेशले आ-आफ्नो बजेट विकास, पूर्वाधार, रोजगारी तथा सामाजिक सुरक्षा क्षेत्रमा केन्द्रित हुने बताइएको छ। संघीय सरकारको अनुदान र साझा स्रोतप्रतिको भरपर्दा बजेट कार्यान्वयन चुनौतीपूर्ण हुने अनुमान गरिएको छ।
Comment