काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिन सडकखण्ड आज जेठ ३० गतेदेखि असार ७ गतेसम्म रातिको समयमा आंशिक रूपमा बन्द हुने भएको छ। राति १०ः३० बजेदेखि बिहान ३ बजेसम्म अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो।
धादिङ जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त सडकखण्डमा पर्ने बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसीसी बिम राख्ने कार्य भइरहेकाले सडक आंशिक रूपमा बन्द गर्न लागिएको हो।
प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास हमालका अनुसार “निर्माणाधीन खोलामा आरसीसी बिम राख्नका लागि ठूलो साइजको क्रेन प्रयोग गर्नुपर्ने भएकाले रातिको समयमा सवारीसाधन बन्द गर्नुपरेको हो,” उनले जानकारी दिए।
सडक बन्द अवधिमा मलेखुबाट मुग्लिनतर्फ गइरहेका सवारीसाधनलाई विभिन्न स्थानमा रोकिने व्यवस्था गरिएको छ। भारी सवारीसाधनहरू मुग्लिन र हलुका सवारीसाधनहरू कुरिनटारमा रोकिनेछन्। यस्तै, मुग्लिनबाट मलेखुतर्फ गइरहेका भारी सवारीसाधन मलेखुमा र हलुका सवारीसाधन शितलबजारमा रोक्ने व्यवस्था गरिएको छ।
रोकिने स्थानमा रहेका सवारीसाधनहरूलाई बिहान ३ बजेपछि मात्रै गन्तव्यतर्फ जान दिने सूचना जिल्ला प्रहरी कार्यालयले जारी गरेको छ।
सवारी चालक र यात्रुहरूलाई वैकल्पिक व्यवस्था गर्न तथा निर्धारित समयसम्म संयमता अपनाउन प्रहरीले अनुरोध गरेको छ।
Comment