काठमाडौं । नेपाल प्रहरीको नायब उपरीक्षक (डीएसपी) भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेको चौँरी देउरालीका ४५ वर्षीय ज्ञानबहादुर लामा उर्फ ज्ञानु तामाङ र सुनसरीको इटहरी पाँचघरेका ४२ वर्षीय रेवती ओझा छन्।
उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो। प्रहरीले दिएको जानकारी अनुसार, हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने भन्दै उनीहरूले एक जनाबाट ६ लाख रुपैयाँ ठगी गरेका थिए।
उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरी परिसर काठमाडौंले जनाएको छ।
पक्राउ परेका ज्ञानु तामाङ विगतमा समेत आपराधिक क्रियाकलापमा संलग्न रहँदै आएका व्यक्ति हुन्। उनी २०७० सालको फागुन २० गते हातहतियार तथा खरखजना सम्बन्धी मुद्दामा दोषी ठहर भई ५ वर्षको सजाय काटेर छुटेका थिए।
प्रहरीले नक्कली परिचय प्रयोग गरी ठगी गर्ने घटनाप्रति सतर्क रहन सर्वसाधारणलाई आग्रह गर्दै अनुसन्धानपछि थप विवरण सार्वजनिक गरिने जनाएको छ।
Comment