टिकटकमा सबभन्दा धेरै फलोअर भएका व्यक्तिलाई किन निकालियो अमेरिकाबाट ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सामाजिक सञ्जाल टिकटकमा सबैभन्दा धेरै फलोअर भएका सेलेब्रेटीमध्येका एक, खाबी लामे अमेरिका छोडेका छन्। अमेरिकी आप्रवासन अधिकारीहरूले लामेलाई भिसाको निर्धारित समयभन्दा बढी बस्दा पक्राउ गरेका थिए।

एपी समाचार संस्थाका अनुसार, सिनेगली मूलका इटालेली नागरिक लामेलाई शुक्रबार ह्यारी रीड अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको थियो। अमेरिकी इम्मिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्टका प्रवक्ताका अनुसार, स्वदेश फिर्तीको आदेश जारी हुनु अगावै लामेलाई स्वेच्छाले अमेरिका छाड्ने अनुमति दिइएको हो।

लामे गत अप्रिल ३० मा अमेरिका प्रवेश गरेका थिए। भिसाको म्याद सकिएपछि पनि बसिरहेकाले उनलाई नियन्त्रणमा लिइएको बताइएको छ। उनले यस विषयमा हालसम्म कुनै सार्वजनिक टिप्पणी गरेका छैनन्।

यो घटना अमेरिका–मेक्सिको सीमामा अवैध आप्रवासन नियन्त्रणका लागि ट्रम्प प्रशासनद्वारा चालिएको कदमसँग जोडिएको बताइएको छ। आईसले धरपकड अभियान तीव्र बनाएपछि लस एन्जलसमा दंगा समेत भड्किएको छ।

यद्यपि, लामेले स्वेच्छाले अमेरिका छोडेकाले उनको आप्रवासन रेकर्डमा देशनिकाला आदेश उल्लेख हुनेछैन। देशनिकालाको आदेश पाएका व्यक्तिलाई भने एक दशकसम्म अमेरिका प्रवेश निषेध हुन्छ।

को हुन् खाबी लामे ?

कोभिड महामारीका समयमा भिडियोमार्फत इन्टरनेटमा चर्चामा आएका खाबी लामेले जटिल कामलाई सरल तरिकाले प्रस्तुत गर्ने शैलीले विश्वभर लोकप्रियता कमाएका हुन्। विशेष गरी कुनै शब्द नबोली बनाउने उनका छोटा प्रतिक्रियात्मक भिडियोहरू अत्यधिक हिट भएका छन्।

टिकटकमा मात्रै उनका १६ करोडभन्दा बढी फलोअर छन्। सेनेगलमा जन्मिएका लामे सानैमा इटली बसाइँ सरेका थिए र उनीसँग इटलीको नागरिकता छ।

सन् २०२२ मा उनले चर्चित फेसन ब्रान्ड ‘ह्युगो बोस’सँग दीर्घकालीन सम्झौता गरेका थिए भने २०२४ को जनवरीमा उनलाई युनिसेफको सद्भावना दूत बनाइएको थियो। उनी गत मे महिनामा न्यूयोर्कमा आयोजित भव्य फेसन कार्यक्रम मेट गालामा समेत सहभागी भएका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।