काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा प्रवाह हुने कर्जा उल्लेख्यरूपमा बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको १० महिनामा सेयर धितो कर्जा ३९.३ प्रतिशतले बढ्दै १ खर्ब २५ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ।
विशेषगरी ठूलो परिमाणका कर्जा लिनेहरुको संख्या बढेको देखिएको छ। १ करोड रुपैयाँभन्दा माथिको सेयर धितो कर्जा १० महिनामा ५३.३ प्रतिशतले वृद्धि भई ८५ अर्ब ७३ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ।
त्यस्तै ५० लाखदेखि १ करोड रुपैयाँसम्मको सेयर धितो कर्जा २१.१ प्रतिशतले बढेर १५ अर्ब ५ करोड रुपैयाँ पुगेको छ।
२५ देखि ५० लाखसम्मको कर्जा १६ अर्ब ६२ करोड रुपैयाँ छ, जसको वृद्धिदर १५.३ प्रतिशत हो।
सानातर्फको कर्जामा भने उल्लेख्य वृद्धि देखिएको छैन। २५ लाख रुपैयाँमुनिको कर्जा १० महिनामा मात्र १०.८ प्रतिशतले बढेको छ। वैशाख मसान्तसम्म यस्तो सीमाको कर्जा ८ अर्ब १० करोड रुपैयाँमा सीमित छ।
विश्लेषकहरुका अनुसार सेयर बजारमा सक्रियता बढेसँगै धितोमा कर्जा लिने प्रवृत्ति तीव्र बन्दै गएको हो। साथै, उच्च कर्जाको माग संस्थागत र धनी लगानीकर्ताबाट बढ्दो देखिएको छ।
यसले साना लगानीकर्ता र सर्वसाधारणबीचको पहुँच अन्तर फराकिलो बनाउँदै लैजाने जोखिम पनि रहेको विज्ञहरूले बताएका छन्।
Comment