काठमाडौं । अभिनेत्री तथा पर्वतारोही दिया पुनले युरोप महादेशको सर्वोच्च शिखर माउन्ट एल्ब्रुस (५,६४२ मिटर) सफलतापूर्वक आरोहण गरेकी छन्। उनले जुन १० तारिखको बिहान, एलिट एक्सपेडिसन प्रा.लि.को आयोजनामा, टेजन गुरुङ र रसियन गाइड लिउन अताबिएभ तथा एड्गरसँगै यो आरोहण सम्पन्न गरेकी हुन्।
दिया पुनले एल्ब्रुस शिखरमा पुगेर नेपालको राष्ट्रिय झण्डा फहराउँदै, “सेभेन समिट्स” चुनौतीमा आफ्नो यात्रा अगाडि बढाएकी छन्। सेभेन समिट्स चुनौती अन्तर्गत उनले सातवटै महादेशका सर्वोच्च शिखरहरू आरोहण गर्ने लक्ष्य लिएकी छन्।
यसअघि उनले अफ्रिकाको सर्वोच्च शिखर किलिमाञ्जारो पनि सफलतापूर्वक आरोहण गरिसकेकी छन्। माउन्ट एल्ब्रुसको सफल आरोहणले उनको यो महत्त्वाकांक्षी लक्ष्यमा अर्को महत्वपूर्ण पाइला थपेको छ।
एल्ब्रुस पर्वत रूसको ककसस पर्वत श्रृंखलामा अवस्थित छ र यसलाई युरोपको सबैभन्दा अग्लो बिन्दुको रूपमा चिनिन्छ।
पुनले सामाजिक सञ्जालमार्फत यस अभियानको सफलताको खुशी व्यक्त गर्दै अगामी दिनमा बाँकी महादेशका शिखरहरू चढ्ने आफ्नो योजनामा निरन्तर अघि बढ्ने बताएकी छन्।
Comment