भारतबाट फर्किनेमा कोरोना सङ्क्रमण, पर्याप्त कीट नहुँदा परीक्षणमा समस्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर । पछिल्लो एक सातामा भारतबाट फर्किएका १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सुदूरपश्चिम प्रदेशमा संक्रमणको जोखिम फेरि बढ्न थालेको छ। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार कैलालीको त्रिनगर नाका र बैतडीको झुलाघाट नाकाबाट नेपाल भित्रिएकाहरुमा दिनहुँ संक्रमण देखिन थालेको छ। तर नाकामा पर्याप्त परीक्षण कीट नहुँदा नियमित परीक्षण प्रभावित भएको छ। मंगलबार मात्रै भारतबाट फर्किएका दुई जनामा संक्रमण पुष्टि भएको जनाइएको छ।

स्वास्थ्य निर्देशनालयका अनुसार झुलाघाट र गौरीफन्टा नाकाबाट एक–एक जना संक्रमित फेला परेका हुन्। मंगलबार मात्रै सुदूरपश्चिमका विभिन्न नाकाबाट ६४३ जना नेपाल प्रवेश गरेका थिए। तीमध्ये १४ जनाको मात्र परीक्षण गरिएको थियो, जसमा दुई जनामा संक्रमण देखिएको हो। सुदूरपश्चिममा कोरोना परीक्षणका लागि हाल जम्मा ३७० कीट मात्र उपलब्ध रहेको जनाइएको छ। हालै निर्देशनालयबाट २०० कीट थप पठाइएको भए पनि बढ्दो आवागमनको तुलनामा यो संख्या निकै न्यून भएको बताइएको छ।

भारतको राजधानी दिल्लीबाट सबैभन्दा नजिकको नाका कञ्चनपुरको गड्डाचौकी हो, जहाँबाट नेपाल–भारत मैत्री बस सेवा समेत सञ्चालनमा छ। यही नाकाबाट दिल्ली लगायत भारतका विभिन्न ठाउँबाट नेपाली घर फर्कने क्रम बढ्दो छ। तर परीक्षण कीटको अभावले यात्रुको स्वास्थ्य परीक्षण प्रभावित भइरहेको छ। त्रिनगर नाकामा संक्रमण देखिएका अधिकांश व्यक्ति दिल्लीबाट फर्किएका थिए, जसले सुदूरपश्चिममा संक्रमणको जोखिम अझ बढाएको स्वास्थ्यकर्मीहरु बताउँछन्।

गड्डाचौकी नाकामा मंगलबार मात्रै १०० कीट उपलब्ध भएपछि परीक्षण सुरु गरिएको हो। जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख ओमप्रकाश जोशीका अनुसार अहिले लक्षण देखिएकाहरुको मात्रै परीक्षण गर्ने व्यवस्था मिलाइएको छ। ‘हामीसँग पर्याप्त कीट छैन,’ उनले भने, ‘लक्षण देखिएका यात्रुको मात्र परीक्षण गर्न सकिने अवस्था छ।’

हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीहरुले भारतबाट फर्किएकाहरुको स्वास्थ्य स्थिति बुझ्ने, मलेरिया, डेङ्गी लगायत अन्य रोगको सम्भावना परीक्षण गर्ने, तथा आवश्यक परामर्श दिने कार्य गरिरहेका छन्। गड्डाचौकी हेल्थ डेस्क प्रमुख विशाल भट्टका अनुसार शंकास्पद यात्रुलाई परिवारबाट टाढा एक हप्ता अलग बस्न सुझाव दिइन्छ।

तर स्थानीयबासी भने नाकामा निगरानी पर्याप्त नभएको बताउँछन्। स्थानीय पदम थापाका अनुसार भारतबाट फर्किने कतिपय जीप, कार र बस नरोकी सिधै नेपाल प्रवेश गर्छन्, र सुरक्षाकर्मीले पनि रोकेको देखिँदैन। उनले प्रशासनले नाकामा कडाइ गरी सबै यात्रुको अनिवार्य परीक्षण सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याए। कोरोना महामारीपछि सुदूरपश्चिमका गड्डाचौकी, त्रिनगर, झुलाघाट र दार्चुलामा हेल्थ डेस्क स्थापना गरिएको भए पनि परीक्षण र निगरानीको कमजोरीले संक्रमण फैलिने सम्भावना अझै कायमै रहेको देखिन्छ।

 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।