विश्वप्रकाश शर्माकी आमा : खस आमाको कोख जनजाति आमाको काख

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आमा सावित्री शर्माको ८२ औं जन्मदिनलाई विश्वप्रकाश शर्माले फरक ढंगले सम्झिए । ६ जेठको जन्मदिनलाई यस पटक उनले हिमालबाट सम्झिए । हिमालका कथाहरू सुन्न उनी हिउँका बाटा उक्लिरहेका थिए । क्याम्प २ (६,४०० मि) मा पुगेपछि विश्वप्रकाशले झोलाबाट तस्बिर निकाले । तस्बिरलाई छातीमा टाँसे र स्नेहसहितको श्रद्धा प्रकट गरे । तीन जना भएको उक्त तस्बिरमा एक थिइन् सावित्री । आमाको जन्मदिनलाई हिमालको उचाइबाट ‘सेलिब्रेट’ गर्न पाउँदा असाध्यै खुसी थिए उनी । तस्बिरमा दोस्रो व्यक्ति थिए, बा पर्शुराम शर्मा । अनि तेस्रो ? तेस्रो अनुहार उनका लागि उत्तिकै न्यानो र आत्मीय थियो। ‘जसले मलाई एकछिन एक दिन हैन, डेढ वर्षसम्म आफ्नो दूध पिलाउनुभयो । उनै आमाको तस्बिर,’ विश्वप्रकाश हृदयभित्र शान्त बसिरहेकी आमा देउकुमारी श्रेष्ठलाई श्रद्धापूर्वक सम्झन्छन् । जस्तोसुकै दौडधुपको समय होस् वा बेचैनी र उदासी । उनका निम्ति ती अनुहारहरू थकान र निराशा मेट्ने चम्किला किरण हुन् । जसलाई हरेक बिहान उनी पूजापाठमा श्रद्धाञ्जली अर्पण गर्छन् । हिमालबाट फर्किसकेपछि विश्वप्रकाशले आमाका कथा सुनाउने प्रण गरेका थिए । आखिर उनले आफ्नो प्रण पूरा गरे । सानेपास्थित पार्टी कार्यालयको शान्त कोठामा प्रेमपूर्वक उनले न्याना स्मृतिहरू बाँडे । २०७० को प्रतिनिधिसभा चुनावको प्रचारप्रसारका क्रममा विश्वप्रकाश झापाको बाहुनडाँगी थिए । तत्कालीन बाहुनडाँगी गाविसको मेची जनसागर माविको छेउमा बसेर मन्तव्य राख्दा उनले सम्झिएका थिए, ‘मेरो यो गाउँप्रति भावनात्मक प्रेम छ । किनकि यो गाउँको स्कुलमा मेरी आमाले पढाउनुभएको थियो ।’ नेपाली राजनीतिको प्रभावशाली नेताले आफ्नो गाउँप्रति गाँसेको भावनात्मक प्रेमलाई लिएर स्थानीयहरू गर्विलो देखिए । त्यही बेला बा उमेरका केशवप्रसाद खनाल विश्वप्रकाशले भने, ‘विश्व बाबु, तिमीले आमाले पढाएको स्कुल भनेर मात्र सम्झियौ। यो स्कुलको चौरमा तिमीले पनि खेलेका छौ।’ यो रहस्योद्घाटनले विश्वप्रकाश चकित परे । केशवले थपे, ‘त्यतिबेला तिम्री आमा घोडामा आउँथिन् । तिमीलाई पछाडि डँडाल्नुमा कपडाले बाँधेर ल्याउँथिन् । नजिकैको चिया पसलको बेन्चमा सुताइदिन्थिन् अनि पढाउन जान्थिन् । बच्चा रोएको सुनेपछि आएर दूध खुवाउँथिन् र फेरि सुताउँथिन् ।’ विश्वप्रकाश रसिक बन्दै गएका आँखाहरूले चौर, स्कुल, बरन्डा नियाल्न थाले । उनले केशवलाई स्नेहपूर्वक सोधे, ‘अनि यी सबै कुराहरू तपाईंलाई कसरी थाहा भयो ?’ केशवले थप सस्पेन्स खोलिदिए, ‘बाबु, तिम्री आमा जुन बेला यो स्कुलमा पढाउँथिन्, त्यो बेला म पनि यही स्कुलमा नै पढाउँथें ।’ यो २०२७/२८ तिरको कथा थियो । जति बेला आमा सावित्री र बा पर्शुराम दुवै स्थायी शिक्षक थिए । बा भने कांग्रेसबाट राजनीतिक आन्दोलनमा रहेकै बेला राजकाजको मुद्दामा जेल परे । कठोर पञ्चायती शासनविरुद्धको आन्दोलनमा उनी चन्द्रगढी जेल परेपछि सावित्रीले संघर्ष झेल्नुपर्‍यो । तत्कालीन अञ्चलाधीशले आमालाई धुलाबारीबाट बाहुनडाँगीको मेची जनसागर माविमा सरुवा गरिदिए । ‘मलाई राजीनामा दिन्छे भनेर सरुवा गरेका थिए तर मैले गरिनँ,’ आमाले आफूले लिएको अडान सुनाएकी थिइन्, विश्वप्रकाशलाई।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।