ललितपुर । नेपाल पत्रकार महासंघ ललितपुर शाखाले हीरा–सिद्धि क्रियाशील पत्रकारिता पुरस्कारको घोषणा गरेको छ।
शनिबार शाखाको कार्यमूलक बैठकमार्फत् पाँच लाख रुपैयाँ राशीको अक्षयकोषसहित पुरस्कार स्थापना गरिएको हो। ललितपुरका समाजसेवी सिद्धिबहादुर महर्जनले उनकी स्वर्गीय धर्मपत्नी हिराकुमारी महर्जनको स्मृतिमा उक्त रकम महासंघ ललितपुर शाखालाई हस्तान्तरण गरेका हुन्। अक्षयकोष घोषणा तथा रकम हस्तान्तरण कार्यक्रममा समाजसेवी महर्जन र महासंघ शाखाका अध्यक्ष रामहरि कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। समाजसेवी महर्जनले सञ्चारकर्मी र पत्रकारको हकहित र प्रोत्साहनका लागि सहयोग गर्न पाउँदा गौरवान्वित भएको बताएका छन्।
कार्यक्रममा वरिष्ठ पत्रकार प्रभुनारायण बस्नेतले महर्जन परिवारको योगदानको प्रशंसा गर्दै यस पुरस्कारले पत्रकारहरुलाई निष्पक्ष र निर्भिक रुपमा कलम चलाउन प्रोत्साहन दिने बताए। महासंघ ललितपुरका पूर्वअध्यक्ष ज्ञानप्रसाद पौडेलले आफूले नेतृत्व गरेको शाखाले पत्रकारिताको विकासका लागि सकारात्मक पहल गरेकोमा खुसी व्यक्त गरे। नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका अध्यक्ष टेनिस रोकाले उपत्यकाका तीन जिल्लामध्ये ललितपुर शाखा सबैभन्दा बढी क्रियाशील रही पत्रकारको हकहितमा काम गर्न सफल भएको उल्लेख गरे।
महासंघ ललितपुरका अध्यक्ष रामहरि कार्कीले हरेक वार्षिक साधारण सभामा जिल्लामा सक्रिय दुई जना पत्रकारलाई हीरा–सिद्धि पुरस्कार प्रदान गरिने जानकारी दिए। उनले भने, “यो पुरस्कार स्थानीय सरोकार, धर्म, संस्कृति र कलाका क्षेत्रमा सक्रिय पत्रकारलाई दिइनेछ।” शाखा सचिव दीपक अर्यालले रकम हस्तान्तरणपछि अक्षयकोष कार्यान्वयनमा आएको बताए। कार्यक्रममा स्वर्गीय हीराकुमारी महर्जनका छोराहरु प्रेम सिंह महर्जन र सरोज डंगोल पनि उपस्थित थिए।
Comment