काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपाली नागरिकलाई दिँदै आएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गरेको छ। यो निर्णयसँगै अमेरिकामा टीपीएसका आधारमा रहँदै आएका करिब ७ हजार नेपालीले स्वदेश फर्किनुपर्ने भएको छ।
अमेरिकाको गृह सुरक्षा विभागले नेपालको अहिलेको अवस्थाको समीक्षापछि टीपीएस खारेज गर्ने निर्णय लिएको हो। यूएस सिटिजनसिप एण्ड इमिग्रेसन सर्भिसको वेबसाइटमा उल्लेख भएअनुसार, नेपालका लागि टीपीएसको मान्यता ५ अगस्ट २०२५ राति ११ः५९ बजे अन्त्य हुनेछ। हाल नेपालको लागि टीपीएसवाहकसँग अमेरिकामा रहनको लागि अन्य कुनै कानुनी आधार नभएको खण्डमा नेपाल फर्कन तयारी गर्नुपर्ने डिपोर्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । अमेरिका छोड्ने विचारमा भएकाले सीबीपी होम मोबाइल एप्लीकेशन प्रयोग गर्नसक्ने होमल्याण्ड सेक्युरिटीले जनाएको छ ।
के हो टीपीएस ?
अमेरिकाको आप्रवासन प्रणाली अन्तरगत विशेष परिस्थितिमा दिइने सुविधा हो टीपीएस । यो सुविधा पाएका निश्चित देशका नागरिकहरुलाई अस्थायी रूपमा अमेरिकामा बस्न, काम गर्न र कहिलेकाहीँ अन्तरदेशीय यात्रा गर्न समेत अनुमति प्राप्त हुन्छ ।
यो सुविधालाई अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्यूरिटी (डीएचएस) अन्तरगत रहेको अमेरिकी नागरिकता तथा आप्रवासन सेवाले व्यवस्थापन गर्छ ।
यो सुविधा त्यस्ता देशका नागरिकहरुलाई दिइन्छ, जहाँ आन्तरिक वा बाह्य युद्ध, प्राकृतिक विपद् वा अन्य किसिमका गम्भीर मानवीय संकट आइपरेको छ । र, त्यहाँ उनीहरुको सामान्य जीवन सम्भव छैन । त्यहाँ उनीहरुलाई सुरक्षाको जोखिम छ ।
नेपालमा बाढी र पहिरोजस्ता क्षेत्रीय वातावरणीय घटनाहरू भए पनि, सरकारले प्रकोप तयारी र प्रतिक्रिया क्षमतामा सुधार गरेको तथा प्रकोप-प्रतिरोधी आवास, पूर्वाधार र सामुदायिक प्रणालीहरूको निर्माणमा समान प्रगति भएकोले फर्कनेहरूको लागि सुरक्षित र स्थिर वातावरण सिर्जना गरेको तथा नेपालको आर्थिक अवस्थामा पनि सुधार भएको सूचनामा जनाइएको छ।
Comment