काठमाडौं । विश्व वातावरण दिवसको अवसर पारेर ग्लोबल आइएमई बैंक लिमिटेडले विद्युतीय सवारी साधन (इभी) चार्ज गर्नका लागि चार्जिङ स्टेशन स्थापना गरेको छ। बैंकले आफ्नो कर्पोरेट कार्यालय कमलादीमा सो चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको हो।
आज बिहीबार आयोजित एक विशेष कार्यक्रमबीच बैंकका सञ्चालक कृष्ण प्रसाद शर्मा, नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र गाडी चार्ज प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रेशा श्रेष्ठले उक्त चार्जिङ स्टेशनको संयुक्त रूपमा उद्घाटन गरेका हुन्।
बैंकले गाडी चार्ज प्रालिसँगको सहकार्यमा स्थापना गरेको सो सिसीटू सिंगल गन चार्जरको क्षमता ४० किलोवाट रहेको छ। सो चार्जिङ स्टेशनबाट बैंकमा सेवाका लागि आउने ग्राहकहरू र बैंकका कर्मचारीहरूले आफ्ना विद्युतीय सवारी साधन चार्ज गर्न सक्ने व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ।
इभी प्रयोगकर्ताको संख्या दिनानुदिन बढ्दै गइरहेको सन्दर्भमा, बैंकमा आउने सेवाग्राहीको सुविधा लक्षित गर्दै चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको बैंकले बताएको छ।
सो अवसरमा सञ्चालक शर्माले बैंकले ग्राहकको सुविधा र वातावरणीय दायित्वलाई मध्यनजर राख्दै वातावरणमैत्री प्रविधिको प्रवर्द्धनका लागि यो चार्जिङ स्टेशन स्थापना गरेको बताएका छन्। साथै, बैंकले आफ्नो व्यवसायिक विस्तारसँगै वातावरणमैत्री उपायहरू पनि अवलम्बन गरिरहेको जानकारी गराए।
त्यस्तै, नायब प्रमुख कार्यकारी अधिकृत पोखरेलले ग्लोबल आइएमई बैंक वातावरण संरक्षण र उत्तरदायी बैंकिङप्रति प्रतिबद्ध रहेको बताए । उनले बैंकले आफ्नो १८औं वार्षिकोत्सव र विश्व वातावरण दिवसको अवसरमा १८ हजार विरुवा रोप्ने कार्य गरिरहेको जानकारी दिँदै, वातावरणमैत्री उत्पादनहरू ल्याएर जलवायु परिवर्तनको असर न्यूनीकरणमा योगदान दिइरहेको बताए।
उनले ग्लोबल आइएमई बैंकले स्थापना गरेको इभी चार्जिङ स्टेशन अन्य बैंक तथा वित्तीय संस्थाहरूले पनि अनुकरण गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा बैंकका उच्च पदस्थ कर्मचारी र गाडी चार्ज प्रालिका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
ग्लोबल आइएमई बैंक ‘ग्लोबल फाइनान्स’को बेस्ट बैंक अवार्ड २०२४ र ‘युरो मनी अवार्ड फर एक्सिलेन्स २०२४’ अन्तर्गत दुई विधाबाट नेपालकै उत्कृष्ट बैंकको रूपमा सम्मानित भइसकेको छ।
साथै, बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट पनि विभिन्न विधामा सम्मानित हुँदै आएको जनाएको छ।
बैंकले मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरी ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २०२ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत सेवा दिइरहेको जानकारी दिएको छ।
बैंकले नेपाली नागरिकलाई देशभित्र बैंकिङ सेवा उपलब्ध गराउनुका साथै अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायतका देशबाट रेमिट्यान्स सेवा उपलब्ध गराउँदै आएको बताइएको छ।
Comment