काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्णप्रतिबन्ध लगाउने निर्णयमा हस्ताक्षर गरेका छन् ।
सुरक्षा जोखिमलाई कारण देखाउँदै उनले ट्रम्पले अफगानिस्तान, म्यानमार (बर्मा), चाड, गणतन्त्र कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकहरुलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेका हुन् ।
यसैगरी ट्रम्पले बुरुन्डी, क्युबा, लाओस, सिएरालियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिकहरूलाई आंशिक रुपमा प्रतिबन्ध लगाउने घोषणामा पनि हस्ताक्षर गरेका छन् ।
ह्वाइट हाउसकी प्रवक्ता एबिगेल ज्याक्सनले अमेरिकी नागरिकलाई क्षति पु¥याउनसक्ने भएकाले राष्ट्रपति ट्रम्पले अमेरिकीहरूलाई खतरनाक विदेशीहरूबाट बचाउन १२ देशका नागरिकलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाएको बताएकी छन् ।
यात्रा प्रतिबन्धको निर्णय ९ जुनदेखि लागु हुने जनाएको छ । यद्यपि अमेरिकी ग्रिनकार्ड भएका व्यक्तिहरु, ९ जुनभन्दा अघि नै भिसा लागिसकेका व्यक्तिहरू, केही निश्चित भिसा श्रेणीहरू र अमेरिकी राष्ट्रिय हितमा सेवा गर्ने व्यक्तिहरूलाई भने छुट दिइने समाचारमा उल्लेख छ ।
यो घोषणाले ट्रम्पको २०१७ मा पहिलो कार्यकालमा गरेको आदेशको पुनरावृत्ति गरेको छ । त्यतिबेला उनले सात मुस्लिम बहुल देशहरूबाट अमेरिका यात्रामा प्रतिबन्ध लगाएका थिए ।
Comment