काठमाडौँ । भिजिट भिसा प्रकरणले तातेको राजनीतिक बहसबीच गृहमन्त्री रमेश लेखकले संसद्मै बोलेर औपचारिक जवाफ दिने तयारी गरेका छन्।
बुधबार बिहान बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री लेखकले समितिमा नभई संसद्कै बैठकमा विस्तृत जवाफ दिने बताएका हुन्।
“यस विषयमा म संसद्मै बोलेर जबाफ दिन्छु। समितिमा जवाफ दिँदा सबै सांसदहरूले जवाफ नपाउन सक्नुहुन्न,” मन्त्री लेखकले बैठकमा भने। साथै, उनले आफूलाई संसद्मै जवाफ दिने गरी व्यवस्था मिलाइदिन पनि समिति सदस्यहरूसँग आग्रह गरे।
सांसदहरूले भिजिट भिसा प्रक्रियामा देखिएको गम्भीर अनियमितता र पछिल्लो विवादका सन्दर्भमा प्रश्न उठाएका थिए। त्यसै क्रममा गृहमन्त्री लेखकले संसद्मै जवाफ दिने प्रतिबद्धता जनाएका हुन्।
प्रतिनिधिसभाको बैठक बुधबार अपराह्न १ बजेका लागि बोलाइएको छ। तर, मंगलबार भिजिट भिसा प्रकरणकै कारण बैठक अवरोध भएपछि आजको बैठक पनि बस्ने नबस्ने अन्योल कायम छ।
संसद्को गतिरोधबीच भिजिट भिसा प्रकरणलाई लिएर राजनीतिक दलहरूबीच चासो र छलफल बढिरहेको छ। गृहमन्त्री लेखकको संसद्मै जवाफले विवादको केही प्रष्टता ल्याउने अपेक्षा गरिएको छ।
Comment