काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ को वैशाख महिनासम्ममा झापाको काँकडभिट्टा नाका हुँदै बङ्गलादेशबाट ४ अर्ब ७५ करोड ८ लाख ६ हजार ८७१ रुपैयाँ बराबरको मालसामान आयात भएको छ। त्यही अवधिमा नेपालबाट बङ्गलादेशतर्फ ३५ करोड ६२ लाख ९७ हजार ८२७ रुपैयाँ बराबरका सामानहरू निर्यात गरिएका छन्।
नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड, काँकडभिट्टा शाखाका प्रमुख सुवास पाण्डेयका अनुसार बङ्गलादेशबाट सबैभन्दा धेरै १ अर्ब ७८ करोड ४२ लाख रुपैयाँ बराबरको अप्रशोधित जुट आयात भएको हो।
अन्य आयात हुने प्रमुख वस्तुहरूमा ब्याट्री, पोल्ट्री फिड सप्लिमेन्ट, कस्मेटिक सामग्री, हाइड्रोजन प्याराअक्साइड, जुट यार्न, विद्युतीय उपकरण, औषधि, आलु, कागज, सिसा, खाद्य तथा पेय पदार्थहरू रहेका छन्।
उता, नेपालबाट बङ्गलादेश निर्यात हुने वस्तुहरूमा मुख्यतः ३० करोड २७ लाख ७९ हजार रुपैयाँ बराबरको खुदो (जुट) पर्दछ। यस्तै, अन्य निर्यात हुने सामग्रीमा जडीबुटी, जनावरको आहार (अनिमल फिड) तथा केही घरायसी प्रयोगका वस्तुहरू रहेका छन्।
पारवहन कार्यालयका अनुसार पछिल्लो समय बङ्गलादेशसँगको व्यापार बढ्दो क्रममा छ। काँकडभिट्टा नाका नेपालको महत्वपूर्ण अन्तर्राष्ट्रिय नाका मानिन्छ जहाँबाट भारतसँगै बङ्गलादेशसँग पनि निर्यात–आयात भइरहेको छ।
Comment