काठमाडौँ महानगरले गर्‍यो राजु पाण्डेलाई निलम्बन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर प्रहरी प्रमुख राजु पाण्डेलाई पदबाट निलम्बन गरेको छ। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंका अनुसार प्रारम्भिक स्पष्टीकरण चित्तबुझ्दो नदेखिएकाले उनलाई निलम्बन गरी थप जाँचबुझको प्रक्रिया अघि बढाइएको हो।

नगर प्रमुख बालेन शाह नेतृत्वको महानगरले पाण्डेविरुद्ध अनुशासनहीन कार्य गरेको भन्दै छानबिन थालेको हो। महानगरको प्रशासन प्रमुख ध्रुव काफ्लेको नेतृत्वमा बनाइएको छानबिन समितिले अनुसन्धान गरिरहेको छ।

पाण्डेले प्रमुख प्रशासकीय अधिकृतको निर्देशन अवज्ञा गरेको, कार्यालय प्रवेशमा अवरोध पुर्‍याएको र कर्मचारी आचरण विपरीत व्यवहार गरेको आरोप लागेको छ। गत चैत २१ गते गुरागाईं कार्यालयमा हाजिर हुन जाँदा नगर प्रहरीको टोलीले अवरोध गरेको आरोपमा कारबाही प्रक्रिया सुरु गरिएको हो।

महानगरका उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू र कार्यपालिका सदस्यहरूले पटक–पटक अनुरोध गर्दा पनि कार्यकक्षको ताला खोल्न पाण्डे नेतृत्वको टोलीले अवरोध गरेको भन्दै ७ बुँदे स्पष्टीकरण मागिएको थियो।

काठमाडौँ भ्यू टावरको नक्सा पाससम्बन्धी विवादपछि बिदामा रहेका गुरागाईं उपप्रमुख सुनीता डंगोलको नेतृत्वमा हाजिर हुन महानगर पुगेका थिए। तर, नगर प्रहरी बलले कार्यालय प्रवेशमा नै अवरोध गरेको थियो।

जाँचबुझ समितिको प्रतिवेदनपछि पाण्डेविरुद्धको बाँकी प्रक्रिया अघि बढाइने गुरागाईंले जानकारी दिएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।