काठमाडौं । यातायात व्यवसायीले अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ कम्पनीले आज बिहानैबाट मनपरी भाडा असुल्न थालेका छन्। सार्वजनिक यातायात बन्द भएसँगै राइड सेयर गर्ने कम्पनीले आज बिहानैबाट दुई गुणा भाडा मोबाइल एपमा राख्न थालेका हुन्।
कम्पनीले यस अगाडि पनि ‘पिक आवर’मा एक जना यात्रुसँग १० देखि ४० प्रतिशतसम्म थप शुल्क असुल्ने गरेको थियो। थोरै संख्यामा चालक रहेको स्थानमा धेरै यात्रुसम्पर्कमा आउँदा स्वतः भाडा बढाउने गरेको छ। कार्यालय समय र रातका बेला सेवाग्राहीसँग थप शुल्क लिने गरेको कम्पनीले यस अगाडि नै स्वीकार गर्दै आएको थियो।
सडकमा भेटिएका एक यात्रुले भने, ‘हिजो अस्ति २५० रुपैयाँमा जाने स्थानमा आज ५०० रुपैयाँभन्दा कममा जानै मानेनन्, एपमा पनि रकम बढेको छ। उता तोकिएको रकममा पनि एसेप्ट भएन, अफलाइनमा तीन गुणा बढी रकम मागिरहेका छन्। सार्वजनिक सवारी साधन चलेको छैन, जानैपर्ने बाध्यता छ। आज मजस्ता यात्रु मारमा पर्ने भए।’
Comment