काठमाडौं । राजसंस्था पुनर्स्थापनाको मागसहित काठमाडौंमा भइरहेको प्रदर्शनका क्रममा राप्रपा नेपाल अध्यक्ष कमल थापा पक्राउ परेपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई कडा चेतावनी दिएका छन्।
आइतबार नक्साल र बालुवाटार क्षेत्रमा भएको प्रदर्शनमा थापालाई प्रहरीले नियन्त्रणमा लिएपछि लिङ्देनले प्रदर्शन स्थलमै उभिएर भने, “कमल थापालाई ससम्मान फिर्ता नगर्ने हो भने भोलिबाट काठमाडौं उपत्यका बन्द सुरु हुन्छ।”
उनले आन्दोलनलाई निर्णायक बनाउने दाबी गर्दै देशभरबाट कार्यकर्तालाई काठमाडौं बोलाउने घोषणा गरे। “अब हामी एक ठाउँमा होइन, ५० ठाउँबाट निस्किन्छौं। कहाँ रोक्नुहुन्छ तपाईं?” लिङ्देनको प्रश्न थियो।
प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न खोजेको आरोपमा प्रहरीले लाठीचार्ज गरेको थियो। थापासहित केही प्रदर्शनकारी पक्राउ परेपछि उक्त क्षेत्रमा स्थिति तनावपूर्ण बनेको छ।
राजसंस्था र हिन्दू राष्ट्रको पुनर्स्थापनाको माग गर्दै राप्रपा, राप्रपा नेपाल लगायतका राजावादी दलहरूले जेठ १५ देखिनै काठमाडौंमा आन्दोलन गर्दै आएका छन्।
Comment