नुवाकोट । नुवाकोट जिल्ला धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले नेपालकै एक महत्वपूर्ण क्षेत्रका रूपमा परिचित छ। यहाँका विभिन्न मठ–मन्दिरहरू खुला धार्मिक संग्रहालयजस्तै देखिन्छन्, जसले हिन्दू र बौद्ध दर्शनको सहअस्तित्वलाई मूर्तरूप दिएका छन्। शिव, भैरवी, विष्णु, तलेजु र बुद्धका पूजास्थलहरूले नुवाकोटलाई आस्था र श्रद्धाको गहिरो केन्द्र बनाएका छन्। यस जिल्लामा हरेक वर्ष लाखौँ श्रद्धालु दर्शन र पूजाका लागि आउने गर्दछन्, जसले धार्मिक पर्यटन प्रवर्द्धनमा समेत महत्त्वपूर्ण योगदान पुर्याएको छ।
नुवाकोटको शिखरबेँसीमा अवस्थित दुप्चेश्वर महादेव मन्दिर शिव आराधनाको प्रमुख स्थल मानिन्छ। जनविश्वासअनुसार महाभारतकालमा भीमले यहीँ तपस्या गरेका थिए भन्ने भनाइ पाइन्छ। मंसिर महिनाको पूर्णिमामा लाग्ने मेला यहाँको सांस्कृतिक जीवन्तता झल्काउने मुख्य अवसर हो। यस्तै, बिदुर नगरपालिकामा रहेको लिच्छविकालीन भैरवी मन्दिर २०७२ को भूकम्पमा क्षतिग्रस्त भएपनि २०७७ सालमा पुनःनिर्माण सम्पन्न भएपछि फेरि श्रद्धालुहरूको केन्द्र बनेको छ। वैशाखमा आयोजना हुने सिन्दुरे जात्राले यस क्षेत्रको सांस्कृतिक परम्परालाई पुनः उजागर गर्दै आएको छ।
काल्पेश्वर महादेव मन्दिर, नटेश्वरको उचाइमा अवस्थित एक आकर्षक तीर्थस्थल हो, जहाँ प्राकृतिक सौन्दर्य र अध्यात्मको संयोजन देखिन्छ। शान्त वातावरण र हरियालीले भरिएको यो मन्दिर शिव आराधना र ध्यानका लागि उपयुक्त स्थल हो। यसैगरी नुवाकोट दरबार क्षेत्रमा रहेका तलेजु भवानी, नारायण, विष्णु मन्दिर र बुद्ध स्तूपले मल्लकालीन वास्तुकलाको सजीव उदाहरण प्रस्तुत गरेका छन्। पृथ्वीनारायण शाहद्वारा पुनःनिर्माण गराइएको बुद्ध स्तूपले नुवाकोटलाई धार्मिक सहिष्णुता र बहुसांस्कृतिक पहिचानमा समृद्ध बनाएको छ।
त्रिशूली र टाडी नदीको संगमस्थल देवीघाट, ऐतिहासिक दृष्टिले झनै महत्वपूर्ण छ। यहाँ रहेको जलपा देवी मन्दिर धार्मिक आस्थाको प्रमुख केन्द्र हो भने यही स्थलमा नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको अन्त्येष्टि सम्पन्न भएको इतिहास छ। यसैले देवीघाट केवल धार्मिक होइन, राष्ट्रिय भावनासँग जोडिएको स्थल पनि हो।
नुवाकोटका यस्ता महत्वपूर्ण स्थलहरूको संरक्षण, प्रवर्द्धन र अध्ययन राज्य, समुदाय र संस्थाहरूको साझा जिम्मेवारी हो। भैरवी मन्दिरको पुनर्निर्माण जस्तै उदाहरणहरूले धार्मिक सम्पदाप्रतिको सरोकार देखाउँछन्, तर अझै थुप्रै मन्दिरहरू संरक्षणको पर्खाइमा छन्। आन्तरिक र बाह्य तीर्थयात्री तथा अध्येताहरूका लागि नुवाकोट एक खुला पाठशालाजस्तै बनेको छ। धार्मिक आस्था र संस्कृतिको जीवन्तताको निरन्तरताका लागि यी सम्पदाको संरक्षण अपरिहार्य देखिन्छ। राज्य र स्थानीय तहको समन्वयमा सम्पदाको दीगो व्यवस्थापन र आध्यात्मिक पर्यटनको प्रवर्द्धन गर्नु आजको आवश्यकता हो।
Comment