नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्छः डा. शेखर कोइराला 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । कांग्रेस नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई पुनः राजीनामा दिन आग्रह गरेका छन्। शुक्रबार खोटाङमा आयोजित कार्यक्रममा बोल्दै डा. कोइरालाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको नैतिक जिम्मेवारी रहने उल्लेख गर्दै राजीनामा आवश्यक रहेको धारणा राखे।

उनले भने, “राजनीतिमा नैतिकता अत्यन्त महत्त्वपूर्ण हुन्छ। यदि त्यही नैतिकता हराउँछ भने अराजकता बढ्न थाल्छ र राजनीतिलाई कमजोर बनाउँछ।” डा. कोइरालाले यसअघि पनि पटक-पटक गृहमन्त्रीको राजीनामाको माग गर्दै आएका छन्।

गृहमन्त्री लेखकले भने आफूमातहतका कर्मचारीमाथि अनुसन्धान भएको आधारमा आफूले राजीनामा नदिने अडान लिएका छन्। तर, हाल भिजिट भिसा प्रकरणमा गृह मन्त्रालयकै संलग्नता रहेको आशंका बलियो बन्दै गएको छ। विशेषगरी मन्त्री लेखकले अध्यागमन विभागमा सहसचिव तीर्थराज भट्टराईजस्ता विवादास्पद कर्मचारीलाई खटाएका कारण उनीमाथि नैतिकता र नेतृत्व क्षमतामाथि प्रश्न उठेको हो।

सहसचिव भट्टराईले संगठित गिरोह मार्फत भिजिट भिसामा विदेश पठाउने कार्यमा आर्थिक असुली गर्दै आएको प्रमाणसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हाल अनुसन्धान अगाडि बढाएको छ। यस्तो अवस्थामा भट्टराईलाई हटाउने मात्र होइन, जोगाउन खोजिएको देखिँदा गृह नेतृत्व स्वयंमाथि मिलेमतोको शंका उत्पन्न भएको छ।

विभिन्न स्रोतहरूले अध्यागमनमा देखिएको चलखेल, समस्या देखिँदा समेत गृह मन्त्रालयले समयमै कदम नचालेको, र अख्तियारले अनुसन्धान थालिसकेपछि मात्र सहसचिव हटाएको जनाएका छन्। यस्ता कार्यले नैतिकताको धरातलमा गम्भीर प्रश्न खडा गरेको भन्दै डा. कोइरालाले गृहमन्त्री लेखकलाई अविलम्ब राजीनामा दिन सुझाएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।