काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको ऐतिहासिक भोटो आज विशेष समारोहबीच देखाइँदैछ। भोटो जात्रालाई नेपालका सबैभन्दा पुराना सांस्कृतिक परम्परामध्ये एक मानिन्छ, जुन करिब ८ सय वर्षअघिसम्म ‘जावलाखेल जात्रा’ भनेर चिनिन्थ्यो।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीका अनुसार ‘जा’ भनेको भात र ‘वला’ भनेको छर्ने भएकाले यसलाई ‘जावलाखेल’ भनिएको हो। यो जात्रा भूतप्रेतलाई खाना चढाउने परम्परासँग सम्बन्धित रहेको जनविश्वास छ।
भोटो जात्राको सुरुवातको ठ्याक्कै मिति अझै पत्ता लाग्न नसके पनि मच्छेन्द्रनाथको रथयात्रा करिब १,३०० वर्षअगाडि सुरु भएको जोशी बताउँछन्। किंवदन्तीअनुसार, नागराज कर्कोटककी रानीको आँखा दुखेपछि मच्छेन्द्रनाथको कृपाले किसानबाट प्राप्त मयलको औषधिले रानी निको भएकी थिइन्। यसको पुरस्कारस्वरूप किसानलाई मणिमाणिक्यले सजिएको भोटो दिइएको थियो।
तर त्यो भोटो पछि एक मनुष्यरूपी भूतले लगेको देखिन्छ। किसानले आफ्नो भोटो दाबी गरेपछि विवाद उत्पन्न भयो। कर्कोटकलाई बोलाएर निर्णय गर्दा कसैले पनि भोटोको हक प्रमाणित गर्न नसकेपछि त्यसलाई रातो मच्छेन्द्रनाथकै जिम्मा लगाइएको थियो।
त्यसयता, प्रत्येक वर्ष विशेष साइतमा भोटो देखाउने परम्परा बसालिएको छ। भोटो देखाउने जात्रा ललितपुरको जावलाखेलमा गरिन्छ, जहाँ गुठी संस्थानका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो सार्वजनिक रूपमा देखाउने गर्छन्।
यस विशेष पर्वको अवसरमा सरकारले काठमाडौं उपत्यकामा आज सार्वजनिक बिदा दिएको छ। धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको यो जात्राले समुदायबीच आपसी एकता, श्रद्धा र परम्पराको संरक्षणलाई अझ सशक्त बनाउने विश्वास गरिएको छ।
Comment