काठमाडौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गणतन्त्र दिवस (जेठ १५) का दिन राजधानी काठमाडौंमा आयोजित प्रदर्शनलाई लिएर नेकपा एमाले र राजावादीबीच तुलना गर्दै टिप्पणी गरेका छन्।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कोइरालाले युवाहरूमा बढ्दो राजनीतिक निराशा देखिएको र त्यसको संकेत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनमा देखिएको उल्लेख गरे।
“हाम्रो आचरण गणतान्त्रिक नहुँदा युवाहरू निराश छन्। उनीहरूले राजाको शासनकाल देखेका छैनन्, केवल चार नेताको सत्ताको खेल देखेका छन्,” कोइरालाले भने। उनले लोकतान्त्रिक मूल्य र संस्कारमाथि आघात पुग्दा युवाहरू विकल्पको खोजीमा रहेको उल्लेख गरे।
उनका अनुसार राप्रपाको जुलुसमा एमालेको तुलनामा बढी युवाको सहभागिता हुनु आफैंमा गम्भीर सन्देश हो। उनले सरकारका गलत कामको आलोचना गर्न नसक्नुले पनि जनताको भरोसा टुट्दै गएको धारणा व्यक्त गरे।
कोइरालाले आफूले अभिव्यक्त गरेका विचारलाई लिएर भइरहेका टिप्पणीप्रति असन्तुष्टि जनाउँदै प्रजातान्त्रिक मूल्य, संस्कार र आचरणको पक्षमा फेरि लड्नुपर्ने आवश्यकता औंल्याए। उनले भने, “गलत काम नगरौँ, सही काम गर्न नसके चुपचाप घरमा बसौँ।”
केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले जेठ १५ का दिन काठमाडौं आफ्नो पार्टीको ‘नियन्त्रणमा’ हुनुपर्ने निर्देशन कार्यकर्तालाई दिएका थिए। यस सन्दर्भमा पनि कोइरालाले चेतावनी दिँदै राजनीतिक प्रतिस्पर्धामा स्वच्छता र उत्तरदायित्व कायम गर्नुपर्नेमा जोड दिएका थिए।
Comment