मनसुन भित्रिएसँगै कोसी प्रदेशमा भयो भारी वर्षा,सतर्कता अपनाउन आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । मनसुन प्रवेश गरेसँगै कोसी प्रदेशमा भारीदेखि अति भारी वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान जारी गरेको चेतावनी अनुसार पछिल्लो १२ घण्टामा प्रदेशका केही स्थानमा धेरै भारीदेखि अति भारीसम्मको वर्षा मापन गरिएको हो।

बिहीबार रातिदेखि मनसुनी वायु सक्रिय भएपछि कोसी प्रदेशमा वर्षाको मात्रा अचानक बढेको महाशाखाले जानकारी दिएको छ। पानी पार्ने प्रणाली उत्तरतिर सर्दै गएकाले आगामी घण्टामा समेत थप वर्षाको सम्भावना रहेको र आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

यसैबीच बाढी पूर्वानुमान महाशाखाले पनि शनिबार बिहान छुट्टै सूचना जारी गर्दै इलाम, झापा, मोरङ, सुनसरी र धनकुटाका धेरै स्थानमा भारी वर्षा भएको र मेची, विरिङ, कन्काई, चिसाङ, लोहन्द्रालगायतका खोलामा सतर्कता तह आसपासको बाढी आउन सक्ने बताएको छ। दिउँसोसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ।

हाल बिहान ६:३० बजेसम्म कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थान, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहितको हल्कादेखि मध्यम वर्षा भइरहेको जनाइएको छ।

मौसमविद्का अनुसार २४ घण्टामा ५०–१०० मिलिमिटर वर्षा हुनु भारी, १००–२०० मिलिमिटर वर्षा हुनु धेरै भारी र २०० मिलिमिटरभन्दा बढी वर्षा हुनु अति भारी वर्षा मानिन्छ। केही स्थानमा वर्षा भन्नाले सम्बन्धित क्षेत्रको ५० प्रतिशत भागमा वर्षा भएको भन्ने जनाइन्छ।

सरकार र सरोकारवालाहरूलाई आवश्यक सतर्कता अपनाउँदै जनतालाई सूचित र सचेत गराउन मौसम पूर्वानुमान महाशाखा र बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।