चितवन । “चलचित्र उद्योगको प्रवर्द्धन र प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान” भन्ने नारासहित चितवनको भरतपुरमा आगामी असार ८ गते ‘लक्की फिल्मी अवार्ड २०८२’ हुने भएको छ। लक्की मिडिया हाउस चितवनको आयोजनामा हुने अवार्ड कार्यक्रममा वि.सं. २०८० साउनदेखि २०८१ असारसम्म प्रदर्शनमा आएका नेपाली चलचित्रहरूबाट उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ। आयोजकले पत्रकार सम्मेलनमार्फत अवार्डका लागि उत्कृष्ट ११ विधामा मनोनयन प्राप्त चलचित्र र कलाकारहरूको नाम सार्वजनिक गरेको हो।
मनोनयनमा परेको उत्कृष्ट चलचित्रतर्फ ‘पुजार सार्की’, ‘फर्की फर्की’, ‘महाजात्रा’, ‘दिमाग खराब’ र ‘उपहार’ परेका छन्। यस्तै, उत्कृष्ट निर्देशकतर्फ दिनेश राउत, सुयोग गुरुङ, प्रदीप भट्टराई, निश्चल बस्नेत र ज्ञानेन्द्र देउजाको नाम समावेश गरिएको छ।
उत्कृष्ट अभिनेता श्रेणीमा प्रदीप खड्का, अनमोल के.सी., विपिन कार्की, दयाहाङ राई र सौगात मल्ल छन् भने उत्कृष्ट अभिनेत्रीमा स्वस्तिमा खड्का, केकी अधिकारी, अञ्जना बराइली, मिरुना मगर र जसिता गुरुङ मनोनयनमा परेका छन्।
छायांकन, सम्पादन, लेखन, नव-निर्देशन, गायन, संगीत तथा अन्य प्राविधिक विधामा पनि उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ। संगीतकार, गायक र गायिकातर्फ अर्जुन पोखरेल, प्रकाश सपुत, एस डी योगी, एलिना चौहान, अस्मिता अधिकारी, बाबुल गिरी लगायत चर्चित नामहरू समावेश छन्।
कार्यक्रमको निर्णायक मण्डलमा वरिष्ठ लेखक तथा निर्देशक मोहन निरौला संयोजक रहनु भएको छ भने सदस्यमा गीतकार शान्तिप्रिय, निर्देशक विजयरत्न तुलाधर र चलचित्र निर्देशक शंकर कार्की रहेका छन्। आयोजकले जुरी अवार्ड, पपुलर च्वाइस अवार्डलगायत थप विधाहरूमा पनि सम्मान गरिने जानकारी दिएको छ।
वि.सं. २०७१ मा स्थापना भएको लक्की मिडिया हाउसले मोफसलमा रहेर नेपाली सिनेमा उद्योगको प्रचार-प्रसार र प्रवर्द्धनका लागि विभिन्न कार्यक्रमहरू गर्दै आएको जनाएको छ। चलचित्र क्षेत्रमा सक्रिय कलाकार, प्राविधिक र नवप्रतिभालाई सम्मान गर्दै चितवनबाटै सिने क्षेत्रलाई सहयोग पुर्याउने उद्देश्यले यो अवार्ड कार्यक्रम आयोजना गरिँदै आएको हो।

Comment