अपाङ्गता भएका युवायुवतीको सशक्तीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर । अपाङ्गता सशक्तिकरण समाज नेपालले ललितपुरको महालक्ष्मी नगरपालिकामा अपाङ्गता भएका युवायुवतीहरूको सशक्तीकरणसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ।

संगठनले जानकारी दिएअनुसार कार्यक्रम समुदायमा आधारित पुनर्स्थापना कार्यक्रमअन्तर्गत बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको साझेदारी र महालक्ष्मी नगरपालिकाको समन्वयमा आयोजना गरिएको हो।

कार्यक्रमको उद्घाटन सत्रमा उपप्रमुख लक्ष्मी महर्जनले अपाङ्गता भएका व्यक्तिको सशक्तीकरण सबैको साझा जिम्मेवारी भएको बताइन्। स्थानीय सरकारले सबैलाई समान अवसर र पहुँच दिनुपर्छ भनेर उनले भनिन्।

महालक्ष्मी नगरपालिकाको सामाजिक विकास शाखा प्रमुख विनिता शर्माले नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको हितमा विभिन्न योजना सञ्चालन गर्दै आएको जानकारी दिइन्। अपाङ्गता परिचयपत्र वितरण, शिक्षा, तालिम र स्वास्थ्य सेवालाई प्राथमिकता दिइएको पनि उनले बताइन्।

इन्क्लुसिभ सोलुसनका कार्यकारी निर्देशक अधिवक्ता मुकुन्दहरि दाहालले अपाङ्गता भएका युवायुवतीहरूलाई शिक्षा, सीप, रोजगारी र नीति निर्माणमा सहभागी गराउने काममा अझ तीव्रता दिनुपर्ने बताए। उनले अपाङ्गता भएका व्यक्तिको क्षमता अनुसार अवसर दिन सके मात्र समावेशी विकास सम्भव हुने धारणा राखे।

अपाङ्गता भएका महिलाहरूको महासंघकी अध्यक्ष निर्मला धितालले अपाङ्गता भएका व्यक्तिहरूलाई अझै पनि समाजमा दया र आश्रितको दृष्टिले हेर्ने प्रवृत्ति रहेको बताइन्। उनले यस्तो सोचले आत्मविश्वास घटाउने भन्दै विद्यालय, पाठ्यक्रम र पहुँचयुक्त संरचनामा सुधार आवश्यक रहेको उल्लेख गरिन्।

कार्यक्रममा अपाङ्गता सशक्तिकरण समाज नेपालका अध्यक्ष टेकनाथ न्यौपानेले समावेशी विकासका लागि अपाङ्गता भएका युवायुवतीहरू स्वयं सचेत हुनुपर्ने बताए। सडक र पूर्वाधार निर्माण गर्दा अपाङ्गतामैत्री बनाउने आवाज उठाउनुपर्नेमा पनि उनले जोड दिए।

संस्थाका सचिव इन्जिनियर कृष्ण महर्जनले सबै मिलेर काम गरेमा मात्रै लक्ष्य हासिल गर्न सकिने बताए। उनले नगरपालिकाभित्र अपाङ्गता समन्वय समिति बनाएर कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।