काठमाडौं । नेपाल प्रहरीका ११ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा भएका छन्।
गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बढुवा समितिले जेठ १३ गते निर्णय गरेको हो। शुक्रबार प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै उनीहरूको बढुवा र पदस्थापनबारे जानकारी दिएको हो। बढुवापछि विशेष ब्युरोमा सुदर्शन प्रसाद कोइरालालाई पठाइएको छ।
यसअघि त्यहाँ कार्यरत डीआईजी सिद्धिविक्रम शाह एआईजीमा बढुवा भएपछि कोइरालालाई जिम्मेवारी दिइएको हो। विनोद घिमिरे प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन भएका छन् भने दिपेन्द्र घर्ती क्षेत्री राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा र दिपक रेग्मी अन्वेषण योजना तथा विकास निर्देशनालयमा खटाइएका छन्।
त्यसैगरी, माधव प्रसाद श्रेष्ठ कर्णाली प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन्। कर्णाली तीन महिनादेखि डीआईजीविहीन रहेको थियो। दिलिप सिंह देउवा महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयमा, दिपककुमार बस्नेत प्रदेश समन्वय विभागमा, ओमबहादुर राना अख्तियारमा, जयराज सापकोटा कार्य निर्देशनालयमा, संजिव शर्मा दास अपराध अनुसन्धान निर्देशनालयमा र सुरेन्द्रबहादुर गुरुङ कार्य विभागमा पदस्थापन भएका छन्। गुरुङको दरबन्दी साइबर ब्युरोमा भए पनि उनलाई काजमा कार्य विभागमा खटाइएको हो।
Comment